२५ जना हुँदा त हम्मेहम्मे थियो, अब ५ जनाले कसरी सरकार चलाउने होला ?



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ । अब अदालतले संसद पुनस्थापना गर्न सक्ने पनि प्रधानमन्त्रीले विश्लेषण गरेका छन ।

सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् मंगलबार २० जना मन्त्रीको नियुक्ति बदर गरेपछि प्रधानमन्त्री ओली अदालतप्रति आक्रोशित बनेका हुन् ।
मंगलबार राति बालुवाटारमा पदमुक्त मन्त्रीहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले भने, ‘संविधानअनुसार २५ जनाको मन्त्रिपरिषद हुँदा त काम गर्न हम्मे परिरहेको थियो, अब चारजना मन्त्रीले कसरी सरकार चलाउनु ?’ आफूले मधेसका नेताहरुलाई समेटेर संविधानअनुसार नै सरकार विस्तार गर्दा अदालतले रोक लगाइदिएको ओलीले गुनासो गरे ।

उनले पदमुक्त मन्त्रीहरुलाई भने, ‘अब अदालतको आदेश मान्दिनँ पनि कसरी भन्नु ? तपाईंहरुले मलाई सहयोग गर्नुभयो, अब संसद पुनःस्थापना होलाजस्तो देखिँदैछ, त्यसपछिको परिस्थिति कसरी अगाडि बढ्छ, हेरौं ।’

प्रधानमन्त्री ओलीले अदालतबाट पदमुक्त भएका सबै मन्त्रीहरुलाई बालुवाटार बोलाएका थिए । सिन्धुपाल्चोकबाट आजै फर्केका निवर्तमान उपप्रधानमन्त्री राजेन्द्र महतो पनि बालुवाटार पुगेका थिए ।

पदमुक्त मन्त्रीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अदालतबाट नागरिकता सम्बन्धी अध्यादेश खारेज गरिदिएकोमा पनि असन्तुष्टि व्यक्त गरे । संविधानमा भएको व्यवस्थालाई नै अध्यादेशमा राख्दा पनि अदालतले दुःख दिएको उनले बताए ।

‘प्रधानमन्त्री ओली निराश र अन्योलमा देखिनु भएको थियो’ बालुवाटारबाट फर्केका एक निवर्तमान मन्त्रीले भने । उनका अनुसार अब संसद पुनस्थापना हुने र त्यसपछिको राजनीतिक समीकरण अनुसार एमाले–जसपाको सरकार बन्ने अवस्था पनि नरहन सक्ने प्रधानमन्त्री ओली र जसपाका नेताहरुले विश्लेषण गरेका छन् ।

बालुवाटार बैठकमा प्रधानमन्त्री ओलीको भनाइ थियो, संसद पुनःस्थापना भयो भने देश कसरी अगाडि बढ्छ हेरौं, भएन भने पनि ५ जना मन्त्रीबाट चल्न गाह्रो छ ।’

प्रधानमन्त्री ओलीले संसद विघटन गरिसकेर पनि जसपाका ११ नेतालाई मन्त्री बनाएका थिए । एमालेबाट पुरानो टीम बदलेर ९ जना थप गरेका थिए । अदालतको आदेशपछि जसपाका ११ जनासँगै एमालेका नयाँ मन्त्रीहरु पनि पदच्युत भएपछि ओली संकटमा परेका छन् । सत्तारुढ एमालेका कतिपय नेताहरुले अदालतले ओलीलाई ‘कामचलाउ प्रधानमन्त्री’ करार गरेको हुनाले अब संसद विघटन सदर हुने र निर्वाचन हुने अनुमान लगाएका छन् । तर, मंगलबार राति बालुवाटारमा प्रधानमन्त्री ओलीको विश्लेषण चाहिँ त्यो भन्दा विपरीत आएको जसपाका एक नेताले बताए ।
उनले भने, ‘अदालतको आदेशले संसद पुनःस्थापना हुने संकेत गरेको प्रधानमन्त्री ओलीको विश्लेषण छ । पुनःस्थापना भएन भने ५ जना मन्त्रीले चुनाव गराउन नसक्ने निश्कर्ष पनि प्रधानमन्त्रीमा देखियो ।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्