सेयरमा बैंकको लगानी ९४ अर्ब रुपैयाँ बढी



बैङ्क तथा वित्तीय संस्थाले सेयर धितो कर्जा वृद्धि गर्दै गएका छन्। नेपाल राष्ट्र बैङ्कले पछिल्लो पटक (वैशाखसम्म) प्रकाशित गरेको विवरण अनुसार बैङ्क तथा वित्तीय संस्थाको सेयर धितोमा गरेको लगानी ९४ अर्ब रुपैयाँ बढी पुगेको छ।

२०७७ चैतसम्म वित्तीय संस्थाको सेयरमा लगानी ९१ अर्ब ८४ करोड ४० लाख रुपैयाँ थियो। वैशाखमा मात्रै बैङ्क तथा वित्तीय संस्थाले साढे दुई अर्ब रुपैयाँ सेयर धितोमा लगानी गरेपछि यस्तो कर्जा बढेको हो।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सबै वाणिज्य बैङ्कहरूले ८१ अर्ब ६१ करोड २० लाख रुपैयाँ तथा विकास बैङ्कहरूले १० अर्ब १८ करोड ४० लाख र वित्त कम्पनीहरूले दुई अर्ब ५४ करोड ८० लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका हुन्। चैत मसान्तसम्म वाणिज्य बैङ्कहरूले ७८ अर्ब ९९ करोड ४० लाख, विकास बैङ्कहरूले १० अर्ब ३२ करोड ४० लाख र वित्त कम्पनीहरूले दुई अर्ब ५७ करोड ९० लाख रुपैयाँ सेयर धितोमा लगानी गरेका थिए।

कोरोना महामारी फैलिएपछि बैङ्किङ प्रणालीको अधिक तरलता सेयर धितोमा लगानी हुन थालेको थियो। खास गरी उत्पादनमूलक क्षेत्रबाट कर्जाको माग आउन नसकेपछि वित्तीय संस्थाले सेयर लगानीमा जोड दिन थालेका हुन्। एक वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतले अधिक तरलताको व्यवस्थापनका लागि पनि वित्तीय संस्थाको ध्यान सेयर कर्जातर्फ बढेको बताए।

‘बैङ्कमा पैसा त्यत्तिकै रहनुभन्दा सेयरमा लगानी गर्दा अल्पकालीन समयलाई भए पनि केही ब्याज त आउँछ नि !’ उनले नागरिकसँग भने, ‘लगानीका अन्य क्षेत्रबाट माग आउन थालेपछि सेयर कर्जा त्यत्तिकै कम भएर जान्छ।’ उनले बैङ्क तथा वित्तीय संस्थाको चाहना पनि सेयर कर्जामा जोड दिने नभएको प्रस्ट पारे।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सबै वाणिज्य बैङ्कहरूले ८१ अर्ब ६१ करोड २० लाख रुपैयाँ तथा विकास बैङ्कहरूले १० अर्ब १८ करोड ४० लाख र वित्त कम्पनीहरूले दुई अर्ब ५४ करोड ८० लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका हुन्।

‘वित्तीय क्षेत्र पनि उत्पादनमूलक क्षेत्रमै लगानी गर्न चाहन्छ,’ उनले भने, ‘यसका लागि उत्पादनमूलक क्षेत्रबाट पनि कर्जाको माग आउनुपर्छ।’ सेयर धितोमा गरिएको लगानी सधैँलाई होइन भनेर बुभ्mन पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ। केही महिना अघिसम्म दुई सय अर्ब रुपैयाँभन्दा बढी बैङ्किङ च्यानलमा अधिक तरलता पुगेको थियो। तर पछिल्लो समयमा भने तरलता कम हुँदै गइरहेको छ। बैङ्क तथा वित्तीय संस्थाको लगानी बढेपछि केही समयदेखि सेयर बजार निरन्तर उकालो लागिरहेको छ। एक वर्षको अवधिमा सेयर बजार मापक नेप्से दोब्बर भन्दा बढीले वृद्धि भइसकेको छ।

राष्ट्र बैङ्कको पछिल्लो नीतिले सेयर धितो राखी बैङ्क तथा वित्त कम्पनीले ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउँछन्। जसले गर्दा पनि लगानीकर्तालाई धेरै कर्जा प्राप्त गर्न सहज भइरहेको छ। लगानीका अवसर फेला नपार्दा अधिकांश बैङ्क तथा वित्तीय संस्थाको जोड सेयर कर्जामै देखिएको छ। चैत महिनासँग तुलना गर्दा वैशाखमा अधिकांश बैङ्कको सेयर धितोमा कर्जा लगानी बढेको छ।

कर्जा सहजै भएपछि बैङ्कबाट कर्जा लिएर सेयर बजारमै लगानी गर्ने गरेको लगानीकर्ताहरूको भनाइ छ। कर्जा सहज भएपछि अनलाइनमार्फत सेयर कारोबार गर्नेको सङ्ख्या करिब सात लाख छ। त्यस्तै, ३५ लाख बढीले डिम्याट खाता खोलिसकेका छन्। नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुली सेयर बजारमा दैनिक अनलाइनमार्फत ८०–९० हजारले कारोबार गर्ने गरेको बताउँछन्। जसले गर्दा दैनिक १८–१८ अर्ब रुपैयाँसम्मको सेयर कारोबार हुन थालेको छ।  नागरिक दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्