लिबाङ । रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–९ होमा भन्ने गाउँका टिकासिंह बुढामगरको घर गएराति पहिरोले बगाउँदा तीन जनाको ज्यान गएको हो ।
रोल्पा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार गएराति १२ बजेको समयमा अविरल वर्षासँगै आएको पहिरोले बुढामगरकी आमा ८६ वर्षीया करती बुढामगर, १८ वर्षीया बुहारी सुशीला बुढामगर र १५ वर्षीया छोरी श्यामकला बुढामगरको पहिरोमा पुरिएर ज्यान गएको हो ।
घटनास्थलमा जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदी सहितको टोली जाँदै गरेको प्रवक्ता रानाले बताए । ६ जनाको परिवार रहेको बुढामगर आफू, उनकी श्रीमती र छोरा भने बाँच्न सफल भएको प्रहरी निरीक्षक रानाले बताए ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।