म जसरी पनि चुनाव गराउँछु, सडकमा उत्रन तयार हुनुः प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दल जनता समाजवादीका नेताहरूसँग आफूले जसरी पनि चुनाव गराउने बताएका छन् । मङ्गलवार सर्वोच्च अदालतको आदेशपछि बालुवाटारमा जनता समाजवादी पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्दै अहिलेको अवस्थामा निर्वाचन नै एक मात्र समाधानको उपाय भएकाले जसरी पनि निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता बताएका थिए ।

‘अहिलेको लडाइ निर्वाचन नगर्ने होइन कसले निर्वाचन गर्ने भन्ने प्रश्न हो मेरो नेतृत्वमा निर्वाचन गर्न नदिने षडयन्त्र हो त्यस कारण परिस्थिति बद्लिन सक्छ निर्वाचन गराउनुपर्छ त्यो निर्वाचन मैले नै गराउने हो यसमा तपाईँहरूको पनि साथ चाहिन्छ’ ओलीसँगको छलफलपछि जसपाका एक शीर्ष नेताले भने ।

२० जना मन्त्रीलाई पदमुक्त गर्ने मङ्गलवार को सर्वोच्चको फैसलालाई अदालतले गरेको राजनीतिको संज्ञा दिँदै अबको अवस्था सडकमा उत्रन पनि तयार रहनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । उनी आफै प्रधानमन्त्री भएका बेला कसका विरुद्ध सडकमा उत्रनु भनेका हुन् भन्ने बारेमा आफूहरूले केही नबुझेको ती नेताको भनाई थियो ।

तर उनले कसरी चुनाव हुन्छ भन्नेबारेमा भने केही बताएका थिएनन् । ‘प्रधानमन्त्री ज्यूले जसरी पनि चुनाव हुन्छ चाहिँ भन्नु भयो तर कसरी हुन्छ भन्ने कारण र तर्क भने दिनु भएन’, ती नेताको भनाई थियो । ‘अहिले शेरबहादुर देउवा प्रधानमन्त्री भए वा सरकारमा गए देउवालाई चलाउने प्रचण्ड भएका कारण परिणाम तपाइ हामीले सोचेजस्तो नहुन सक्छ । त्यस कारण प्रचण्ड आफू सुरक्षित हुनका लागि जसरी पनि देउवाको नेतृत्वमा चुनावमा जान चाहन्छ त्यस कारण पनि आफ्नै नेतृत्वमा चुनाव गराउनु पर्ने हुन्छ’ ओलीको भनाई थियो ।

साँझ ६ बजे देखि ८ बजेसम्म छलफल चलेको थियो । छलफलमा सहभागी एक नेताका अनुसार ओलीले मङ्गलवार को निर्णय ‘अनपेक्षित र गैर संवैधानिक’ समेत भएको बताएका थिए । उनका अनुसार ओलीले सबैलाई धैर्यता राख्न आग्रह गर्दै भने, ‘अदालतले हामी माथि राजनीति गर्‍यो, यो स्वाभाविक निर्णय होइन, गैर संवैधानिक समेत छ, हामीले यस्तो अपेक्षा गरेका थिएनौ । ओलीले आगामी चुनावसम्म जसपासँग सहकार्य गर्ने प्रस्ताव समेत गरेको स्रोतको दाबी छ । छलफलमा महन्थ ठाकुर, राजेन्द्र महत्तो, लक्ष्मणलाल कर्ण सहभागी थिए ।

उनीहरूसँगको छलफल अघि प्रधानमन्त्री ओलीले अदालतले संसद् पुनः स्थापना समेत गर्छ होला भन्ने आशयका कुरा गरेका थिए । यदि त्यस्तो भयो भने विपक्षी गठबन्धनको समेत बहुमत पुग्न नदिने रणनीति बनाउने र फेरि पनि अदालतबाट नउल्टिने गरी विघटनको निर्णय गर्ने कोणबाट समेत छलफल अघि बढेको थियो । त्यसअघि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्का सबै सदस्यहरूसँग कुराकानी गरेका थिए । उनले मन्त्रीहरूलाई नआत्तिन आग्रह समेत गरेका थिए । डिसिनेपालबाट साभार 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्