गोरखामा दलित कर्मचारीमाथि दु’र्व्यवहार



गोरखा । गोरखाकी एक महिलाले दलित कर्मचारीलाई गोठभित्र पस्न पनि प्रतिबन्ध लगाएकी छन् । भीमसेन थापा गाउँपालिका– ८ की मिरा पौडेलले पशुमा पूर्ण खोप कार्यक्रममा खटिएका दुई जना दलित कर्मचारी प्रीति गैरे र विशाल सिर्मललाई गोठभित्र पसेर गाई गोरुलाई छुन नदिएकी हुन् ।

हाम्रा गाई गोरुलाई नछो भन्दै दु’र्व्यवहार गरेको पीडितको गुनासो छ । उनीहरू भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका करारका कर्मचारी हुन् । पशुमा पूर्ण खोप कार्यक्रममा खटिने क्रममा ती महिलाको गोठमा पुगेका थिए । ‘सुरुमा त हामीले गोठभित्रै बाँधेको ठाउँमा खोप लगाइदिने कि फुकाएर लगाउने भनेर सोधेका पनि थियौँ’, पीडितमध्येकी प्रीति गैरेले भनिन्, ‘उहाँले बाँधेकै ठाउँमा लगाइदेऊ भन्नुभयो । हामी गोठभित्र पस्यौँ तर उहाँ आएर तिमीहरू सार्कीका छोराछोरी किन मेरो गोठभित्र पसेको भन्दै कराउनु भयो । हामीसँगै रहेका श्रेष्ठ थरका अर्का कर्मचारीलाई चाहिँ केही भन्नु भएन ।’ कानुनले जातीय भेदभाव तथा छुवाछूत गर्नेलाई कारबाहीको व्यवस्था गरे पनि व्यवहारमा पीडित पीडितै भइरहनु परेको उनको गुनासो छ ।

पीडितले आफूहरूमाथि जातीय भेदभावको आधारमा अपमान गरेको भन्दै वडा स्तरको मेलमिलाप केन्द्र र प्रहरी चौकी बोर्लाङमा उजुरी दिएका छन् । सो घटनाको बारेमा छलफल गरी मेलमिलाप गराएर पठाएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । ‘पीडक पक्षले मैले बिराएँ भनेर माफी माग्नु भयो । पीडितकी आमा आफै मेलमिलाप केन्द्रको संयोजक हो । उहाँले माफी दिनुभयो अनि सबै जना फर्कनु भयो’, उनले भने । 

तर पीडित प्रीति र विशालले भने आफू र आफ्ना परिवारमाथि बारम्बार छुवाछूतको व्यवहार भइरहेको भन्दै मेलमिलापप्रति असहमति जनाएका छन् । ‘आमा त आफै मेलमिलाप केन्द्रको संयोजक हुनुहुन्छ । उहाँले त मिल्नुपर्छ भन्नुहुन्छ’, प्रीतिले भनिन्, ‘तर केही समयअघि बिहे भोजमा उहाँ पनि अरूकै हारमा बसेर भोज खाएको भनेर गाउँलेले उहाँमाथि दु’र्व्यवहार गरेका थिए । त्यति बेला पनि माफी दिनुभयो । सधैँ अन्याय गर्ने, माफी माग्ने गरेर हुन्छ ?’ घर परिवारका अन्य सदस्यसँग सल्लाह गरेर कारबाही प्रक्रियामा अघि बढ्ने र नबढ्ने निधो गर्ने उनले बताइन् । अन्नपूर्ण पोस्टबाट साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्