सैघाली खबर,
घोराही २४ माघ।
राष्ट्रियसभा सदस्यका लागि पाँच नम्बर प्रदेशको निर्वाचन अहिले घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा अन्तीम चरणमा पुगेको छ । बिहान १० बजेदेखि शुरु भएको मतदान ३ बजेसम्म चल्नेछ । निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार दिउँसो पौने २ बजेसम्म ३ सय ३ मतदाताले भोट खसालेका छन् । कुल मतदाता ३०५ रहेकोमा अब दुईजना मतदाता मात्रै बाँकी रहेका हुन् । जसमा प्रदेशसभा सदस्यतर्फ ८६ र स्थानीय तहतर्फ २१७ मत खसेको छ ।
राष्ट्रिय सभा सदस्यलाई चुन्न ५ नं। प्रदेशका मुख्यमन्त्रीका दावेदार एमाले नेता शंकर पोख्रेल, माओवादी नेता कुलप्रसाद केसी “सोनाम”लगायतले मतदान गरिसकेका छन् । प्रदेश सभाका ८७ सदस्य र स्थानीय तहका २ सय १८ गरी ५ नम्बर प्रदेशमा कुल ३ सय ५ मतदाता रहेका छन।।निर्वाचनमा भोट हाल्नका लागि मिलन केन्द्रस्थित मतदान स्थलमा दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
देशभर ५९ जना सदस्य रहने राष्ट्रिय सभामा ५६ जना निर्वाचित हुनेछन् भने बाँकी ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।
बुधबार बेलुकासम्म नै मतपरिणाम आइसक्ने निर्वाचन आयोगले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।