जातीय विभेदको घटनामा प्रधानमन्त्रीको मौनता गम्भीर छ: कांग्रेस

By Thah Online

June 25, 2021

काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई शिक्षा, विज्ञान तथा प्रविधिलगायत मन्त्रीको जिम्मेवारीमा रहेका कृष्णगोपाल श्रेष्ठलाई अझै किन मन्त्री कायम राखेको भन्ने प्रश्न गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रवार विज्ञप्ति जारी गरेर सरकार न्यायको संरक्षक र समाधानको उत्प्रेरक कि द्वन्द्व बढाउने पक्षधरता ? भन्दै प्रधानमन्त्रीमाथि समानताको विषयमा गम्भीर प्रश्न गरेको हुन् । शर्माले सार्वजनिक गरेको विज्ञप्तिमा समय र संसार बदलिएको तर हाम्रा कैयन सोच, व्यवहार र समाज अपेक्षित गतिमा बदलिएको बताए ।

‘दशक लामो हिंसाको अन्त्य गर्न हामी समर्थ भयौँ तर दलित समुदायमाथि अनेक प्रकृतिको हिंसा अन्त्य भएको छैन। नयाँ संविधान निर्माण गर्न हामी समर्थ भयौँ, तर संविधान अनुरूप न्याय र समानताको संस्कार निर्माण गर्न सफलता प्राप्त भएको छैन। यस्तो परिस्थितिमा देश बन्ने/बनाउने परिभाषाभित्र सामाजिक रूपान्तरणको प्रश्नलाई गहन आत्मसात् गर्दै नवीन राष्ट्रिय विमर्श थालनी गर्न अत्यावश्यक भएको छ,’ उनले भनेका छन्, ‘हालैको एक घटनामा तपाईँको मन्त्रीमण्डलका एक मन्त्रीको व्यवहार अनि त्यसप्रति यहाँको मौनताले गम्भीर प्रश्न उठान गरेको छ।’

सञ्चारकर्मी रूपा सुनारलाई थरकै आधारमा बबरमहलकी घरबेटी सरस्वती प्रधानले कोठा दिएकी थिइनन्। रूपाको उजुरीपछि सरस्वतीलाई हिरासतमा लिएर अनुसन्धान गरिएको थियो । उनलाई छुटाउन बुधवार मन्त्री श्रेष्ठ प्रहरी कार्यालय नै पुगेका थिए। ‘प्रश्न रूपमा सुनार र सरस्वती प्रधानबिचको संवाद र विवादको मात्र होइन । प्रश्न यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्ने प्रश्न हो,’ उनले भनेका छन्, ‘सस्तो राजनीति चाहन्छौँ कि जिम्मेवार ढङ्गले विषयको उठान र निदान गर्ने राज्य व्यवस्था चाहन्छौँ भन्ने पनि हो।