नारायणगढ । सरकारले कोरोना रोक्न निषेधाज्ञा जारी गरिएपछि चितवनका किसानले उत्पादन गरेको ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ रुपैयाँ बराबरको दूध खेर गएको छ ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै निषेधाज्ञाका ४५ दिनमा उक्त दूध खेर गएको जनाएको हो ।
जिल्लामा वैशाख १६ को मध्यरातदेखि निषेधाज्ञा लागेको हो । ‘हामीले जेठ मसान्तसम्म संकलन गरेको विवरण अनुसार डेढ महिनामा २० लाख ९० हजार २ सय १४ लिटर दूध किसानबाट संकलन हुन नसकेको देखिन्छ । असारपछि पनि अवस्था उस्तै छ,’ संघका सचिव किशोर बगालेले भने । दुग्ध विकास संस्थानले दिने मूल्यलाई आधार मानेर क्षति रकम तय गरिएको हो ।
संस्थानले सरदर लिटरको ५३ रुपैयाँमा किसानबाट दूध खरिद गर्छ । चितवनमा संघमा आवद्ध १ सय १० वटा दुग्ध सहकारी छन् । ‘यो अवधिमा दुईवटा सहकारी मात्रै पूरा ४५ दिन खुलेछन् । एउटा सहकारी ३७ दिनसम्म बन्द भएको देखिन्छ । नभए सरदर चितवनका दुग्ध सहकारीहरू ४५ दिनमा १५–२० दिन मात्रै खुलेका छन् । सहकारी नखुल्दा किसानको दूध बिकेन । जसलाई हामीले नोक्सान मानेका छौं,’ सचिव बगालेले भने ।
सामान्य अवस्थामा ४५ दिनमा सहकारीहरूमा ७७ लाख ९६ हजार २ सय ५० लिटर दूध संकलन हुन्थ्यो । निषेधाज्ञा लागेपछि बजार बन्द भयो । साना–ठूला कुनै पनि होटल, रेष्टुरेन्ट चलेनन् । विहेका भोज भतेर भएनन् । सभा सम्मेलनहरू पनि रोकिए ।
दूध खपत हुन नसकेपछि निजी डेरी उद्योग र डीडीसीले पनि दूध संकलन नगर्दा किसानहरूले उत्पादन गरेको ठूलो परिमाणको दूध खेर गएको संघका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए । सहकारीले किनेर पाउडर र बटर र मख्खन बनाए पनि बिक्री नभएर किसानलाई नै फिर्ता गर्नुपर्ने अवस्था आएको सचिव बगाले बताउँछन् ।
उनले भाडा तिरेर पाँच टन मख्खन काठमाडौंको कोल्ड स्टोरमा र १० टन मख्खन सहकारीमा नै राखेको बताए । यो पनि सजिलै खपत नहुने उनले देखेका छन् ।
निजी डेरी उद्योग र पसलले किसानसँग लिटरको ४० रुपैयाँमा दूध उठाउन खोजेको संघका पदाधिकारीको आरोप छ । ‘किसानले किन्ने सबै वस्तुको मूल्य बढेको छ । दाना, चोक्कर र मिहिनेत जोड्ने हो भने एक लिटर दूधको उत्पादन लागत ६० रुपैयाँ पर्न आउँछ । अहिले डीडीसीले ५३ रुपैयाँ मात्रै दिन्छ । यो संकटका बेलामा अन्यले ४० रुपैयाँमा दूध उठाउन खोज्दै छन्,’ सचिव बगालेले भने ।
दूध बिक्री घटेको, पाउडर बनाएर राख्दा समयमा बिक्री नहुने समस्या रहेको बताएर निजी डेरीले दूधको मूल्य घटाउन दबाब दिएको बगालेको आरोप छ । ‘चितवनका केही दुग्ध सहकारीले घटेको मूल्यमा दूध दिन थाले । यसले त किसान पनि मर्कामा, उपभोक्ता पनि ठगिने अवस्था आउने भएको छ,’ बगालेले भने । यसमा सरकारी निकायको ध्यान जानुपर्ने उनको भनाइ छ । किसान मर्कामा परे सडकमा आउनुको विकल्प नभएको संघका सह–सचिव मणिप्रकाश खतिवडाले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।