डलर कमाउनेहरु ९९ % बाहुन-क्षेत्री छन्, डलरेकाे आ’रोप रुपा सुनारहरुलाई !



एक जना बाहुन केटा नेपाली नागरिकता त्यागेर डलरको देशमा भासिए र भक्कु डलर कमाए । डलरले पुरिएपछि उनलाई अकस्मात् देशको याद आयो । अकस्मात् डलरभन्दा सय गुणाभन्दा निम्छरो नेपाली रुपैयाँको याद आयो । अकस्मात् नेपाली नागरिकता, नेपालको ढाका टोपी र झन्डाको याद आयो ।

डलरको थुप्राभित्रबाट उनले सोचे- अब नेपाल फर्कन्छु । थुप्राभित्रबाट सोचे- नेपाल पुगेर नयाँ जोगीलेजस्तो राष्ट्रियताको बेस्सरी खरानी घस्छु । नेपालीहरू पहाडे र अझ बाहुन-क्षेत्री अनुहार देखेपछि राष्ट्रियताबारे शङ्कै गर्दैनन् । दलित जनजाति मधेसी महिलाको बारेमा बोल्नेलाई मात्र डलरे भनेर गाली गर्ने हुन् ।

आफ्ना छोराछोरीलाई डलर चल्ने देशमा पठाउन जुन स्तरको बेइमानी र गुलामी गर्न पनि पछि पर्दैनन् । यो कुरा ती बाहुन केटालाई थाहा थियो । उनी डलरको कुम्लो बोकेरै नेपाल फर्के । अमेरिकी पिआर वेला केटो भनेपछि ऊ पाको भए पनि र तीन चार वटी श्रीमती भएको भए पनि उसलाई छोरी दिन नेपालका धनी मनीहरू पनि ज्यान फाल्छन् । ज्यान फाले पनि र बिहे पनि भयो । यो बिचमा उसकी अघिल्ली श्रीमतीले आफूलाई अन्याय भयो भनेर रोइकराई गरिन् । तर अरू त अरू एउटा ठुलो महिला जगतले पनि उनलाई डलर खाएर महान् राष्ट्रवादी नेताको बेइज्जत गरेकी भनेर गाली गर्‍यो ।

उनी टेलिभिजनको कार्यक्रम प्रस्तोता बने । उनी आफै गुप्तचर आफै प्रहरी आफै वकिल र आफै न्यायाधीश पनि बने । तर उनको फ्यान क्लब बढिरह्यो । जयजयकार भइरह्यो । यही बिचमा उनको नागरिकताको कुरा उठ्यो । सबैलाई थाहा थियो कि नेपाली नागरिकता नत्यागी अमेरिकी पिआर पाइन्न । उनले नेपाली नागरिकता त्यागेरै गएका थिए । अनि पुनः नेपाली नागरिकता नलिईकन नेपालमा पत्रकारिताको कभरमा दादागिरी चलाइरहेका थिए । कानुनी हिसाबले एउटा विदेशी नागरिकले देशमा मनमौजी गर्दा कसैको राष्ट्रवाद दुखेन । पटक्कै दुखेन । दुख्दै दुखेन । खै किन पो दुखेन ? सायद अधिकांशले दिल डलरे भैसकेको थियो ।

क्रिश्चियन धर्म प्रचारक ठुला मान्छेहरू धेरैजसो बाहुनहरू नै छन् । तर दोष दलित र जनजातिलाई छ । डलरमा पैसा कमाउनेहरू डलरमा खाता हुनेहरू ९९ प्रतिशत बाहुन क्षेत्री होलान् । तर डलरेको आरोप रूपा सुनारहरूलाई लगाइन्छ ।  अमेरिकासँग झुकेर एमसिसी पास गरेर डलर भित्र्याउनुपर्छ भन्ने र डलरमा कमिसन खानेहरूले दाल चामल किन्ने नेपाली रुपैयाँ पनि नहुनेहरूलाई डलरे भनेर गाली गर्छन् ।

अरू त अरू आफ्ना छोराछोरीलाई अमेरिका राखेर डलर थुपार्ने दक्षिणपन्थी, “वामपन्थी” र राजापन्थीहरूले पनि दोष जति निमुखाहरूलाई थोपरेर उम्कन खोज्दै छन् । “डलरे” क्या बात ! आफू डलर कमाउन मरिहत्ते गर्ने अनि अरूलाई दोष लगाउने । जसले बढीमा खाडी गएर केही कमाएर जहान बच्चा पाल्ने जुनी बाँचेका छन्, तिनलाई पिआरवालाहरूले डलरे भनिदिने ? अनि हामी लुसुलुसु पत्याइदिने ?

(याे सामग्री बलराम तिमल्सिनाकाे फेसबुकबाट लिइएकाे हाे ।)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्