सुदूरपश्चिमका डिआइजी कँडेललाई ५ प्रश्न ? भन्छन्, ‘निर्मला ह’त्या प्रकरणको अझै नयाँ र पुरस्कृत ढङ्गले अनुसन्धान हुन्छ’



धनगढी । हालसालै सरुवा भएर सुदूरपश्चिम आएका प्रहरी नायव महानिरीक्षक (डिआइजी) पुरुषोत्तम कँडेलले प्रदेशको शान्ति सुरक्षा कायम गर्नु आफ्नो महत्त्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ । डिआइजी कँडेलले बिहीबार मात्रै कैलाली पुगेर प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको छ ।

गृह मन्त्रालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत (डिआइजी) उत्तम राज सुवेदीको केही दिनअघि मात्रै काठमाडौँ सरुवा गरेपछि उहाँको ठाउँमा नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागबाट कँडेललाई सुदूरपश्चिम प्रदेश पठाइएको हो ।

उहाँले प्रदेशमा सीमा सुरक्षा, लागु औषध, सडक दुर्घटना र सीमामा हुने तस्करी लगायतका घटनाहरू मुख्य चुनौती रहेको बताउदैं आफ्नो कार्यकालमा यस्ता घटनाहरू न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । साथै उहाँले निर्मला हत्या प्रकरणको पनि अझ नयाँ र पुरस्कृत ढङ्गले अनुसन्धान हुने बताउनुभएको छ ।

प्रस्तुत छ, सुदूरपश्चिम प्रदेश प्रहरी नायव महानिरीक्षक (डिआइजी) पुरुषोत्तम कँडेल सँग गरेको कुराकानीको सम्पादित अंश

१. तपाईँले सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षाको विषयलाई कसरी लिनु भएको छ, वा हेर्नु भएको छ ?

अब हेर्नुहोस् शान्ति सुरक्षा प्रहरीको सबै भन्दा ठुलो आधारभूत दायित्व हो । शान्ति सुरक्षा कायम गराउन सफल भएपछि त्यसले राज्यका अन्य क्रियाकलापहरूमा पनि योगदान दिन्छ । त्यसपछि प्रहरीको ठुलो काम भनेको अपराध अनुसन्धान गर्ने, कानुनी कठघरामा ल्याउने, न्याएको पहुँचमा ल्याउने कुरा प्रहरीलाई ऐन कानुनले देखाएकै छ । त्यो बाहेक गृह मन्त्रालयको गृह प्रशासन सुधार योजना छ । नेपाल प्रहरीको रणनीतिक योजना छ । यी सबै कुराहरूको अनुसरण गर्दै हामीले काम गर्नु पर्दछ र हामीले प्रहरी ऐनले दिएको अधिकार र दायित्वलाई मध्यनजर गर्दै सोही अनुरूप काम गर्छौँ ।

२. तपाईँले सेवाको क्रममा विभिन्न अनुभवहरू बटुल्नुभएको छ, तपाइले यहाँको शान्ति सुरक्षामा देख्नु भएका चुनौतीहरू के–के हुन ?

अहिले तत्काल मैले स्टाफहरू सँग छलफल गर्दा र राय लिँदा लागु औषधको समस्या डरलाग्दो अवस्थामा पुगेको महसुस गरे । त्यसपछि, सडक दुर्घटना, सीमा पार अपराध लगायतका समस्याहरू छन् । यी कुराहरूलाई क्रमशः न्यूनीकरण गर्दै जाने मेरो अभिलाषा रहेको छ । यही अनुसारले म मेरो टिमलाई परिचालन गर्छु ।

३. तपाईँ यहाँको प्रदेश सरकार र स्थानीय सरकार सँग के–कसरी समन्वय गरेर अगाडी बढ्नु हुन्छ ? तपाईँको योजना के छ ?

मैले उहाँहरूसँग सम्पर्क गरिसकेको छु । उहाँहरूले संयुक्त रूपमा काम गर्‍यौ भने सफल हुन्छौँ । सरकारले विभिन्न प्रकारको कार्यक्रमहरू बनाएका छौँ । त्यो कार्यक्रमहरू को कार्यान्वयन गर्नको लागी प्रहरीको सहयोग आवश्यक पर्छ र तपाई आउनुहोस् हामी कसरी अगाडी बढ्ने भनेर सल्लाह गरेर अगाडी बढ्ने छौँ भन्ने कुराकानी भएको छ । सोही अनुसार पूर्व निर्धारित कार्यक्रम र यसमा थप समेट्न सकिने कार्यक्रमहरू समावेश गर्छौँ । साथै आज कैलाली उद्योग वाणिज्य सङ्घ सँगको छलफलको क्रममा उहाँहरूबाट पनि शान्ति सुरक्षा र अपराध अनुसन्धानको निम्ति सहयोग लिने दिने बचन प्रतिबद्धता पाएको छु, प्रदेश सरकारबाट पनि सोही अनुरूपको बचन प्रतिबद्धता पाएको छु । यो सबैको सहयोग बाट मात्रै शान्ति सुरक्षा कायम राख्ने कुरा सम्भव हुन्छ भन्ने मेरो धारण हो ।

४. सरलाई अवगत भएकै कुरा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ब’लात्कार पछि हत्या भएको निर्मला पन्तको घटना । त्यो घटनाको अहिले सम्म निरूपण नभएको हुँदा अहिले प्रहरीले जतिसुकै राम्रो काम गरे पनि जस नपाउने, प्रहरीले राम्रो गर्दै छ समेत नभन्ने वातावरणको सिर्जना भएको छ सुदूरपश्चिममा अब तपाईँले तपाईँले हत्यारा पत्ता लगाउन प्रहरी प्रशासन कसरी परिचालन गर्ने र के-कसरी अनुसन्धान प्रक्रिया अगाडी बढाउनु हुन्छ ?

हेर्नुस्, प्रहरी भनेको एकल व्यक्ति होइन संस्था हो । एकल व्यक्तिले म मात्रै, मैले गर्छु भन्ने सवाल यसमा आउँदैन । राज्यले प्रदान गरेको श्रोत साधनहरूको प्रयोग गरेर कानुन बमोजिम काम गर्ने हो । यसमा मलाई सङ्गठन प्रमुख आइजिपी साप बाट निर्देशन भएको छ र त्यहाँ कार्यरत प्रहरी अधिकृतहरू बाट पनि मैले आवश्यक प्रतिक्रिया/सुझावहरू लिएको छु । अब हामीले पहिले गरेका कतिपय कारबाहीहरू कतिपय अनुसन्धानका पाटोहरू लाई पुनः समीक्षा गर्नुपर्ने अवस्था आएको छ । त्यो गरेर हामी नयाँ बाटो पहिल्याउँछौँ र नयाँ तरिकाले जान्छौँ भन्ने मेरो योजना हो । यसमा श्रोत साधनहरूको कुरा पनि आउँछ । चौथो अङ्ग मिडिया तपाईँहरूको पनि आवश्यक पर्छ, नागरिक समाज सबैको आवश्यक पर्छ । सबैको सहयोग र सहकार्यबाट हामीले लक्ष प्राप्त गर्छौ भन्ने मलाई लाग्छ ।

५. हामीले गर्नु पर्ने सहयोग र सुझाउनु पर्ने ठाउँहरूमा हामी सधैँ तयार नै छौँ । र अन्तिममा यस प्रदेशमा शान्ति सुरक्षा कायम राख्न वा विभिन्न घटनाहरू कम गर्न तपाईँले आफ्नो तर्फबाट के गर्नु हुन्छ ? साथै यहाँ नागरिकहरू बाट तपाईँले अपेक्षा गरेको सहयोगहरू के-के हुन अनि सुदूरका नागरिकले प्रहरी प्रशासनलाई के-कसरी सहयोग गर्न सक्छन् सर ?

म नागरिक समाज सँग अन्तरक्रिया गर्छु । प्रहरी प्रशासन कुनै बेग्लै कम्पोनेन्ट हैन । नागरिक समाजकै एउटा अङ्ग हो । प्रहरी मात्रै असफल हुँदैन । प्रहरी असफल भइरहँदा नागरिक समाज पनि असफल हुन्छ । त्यस कारण कुनै पनि समाजको अग्रगमन अथवा प्रस्ट गमन समाज भित्र भूमिका निर्वाह गरिरहेका विभिन्न अङ्गहरूको सबैको सामूहिक असफलताले मात्र त्यस्तो हुने हो । नागरिक पक्षबाट कुनै पनि पूर्वाग्रह नराखी स्वार्थ नराखीकन निष्पक्ष रूपमा सहयोग गर्ने नागरिक समाजको खोजी मैले गर्छु । मैले त्यो पाउँछु पनि भन्ने विश्वास लिएको छु । हामीले गर्ने लक्ष यो हो भनी प्रस्ट भएपछि सबै पक्ष तह र तप्काबाट सहयोग अवश्य मिल्छ । र हाम्रो अनुभवले पनि त्यही भन्छ । नागरिक शक्ति नै सबैभन्दा ठुलो शक्ति हो । राज्य पक्ष राज्य भन्दा बाहिरका पक्षहरू उद्योगी व्यवसायीहरू लगायत सबैको सहयोग प्राप्त भए हामीले अवश्य पनि लक्ष प्राप्त गर्ने छौँ भन्ने मै विश्वास लिएको छु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्