को हो मान्छे माथी अमानवीय व्यबहार गर्ने समुदाय ? – बलराम तिमल्सिना



यति बेला काठमाडौँमा जात थाहा पाए पछि कोठा भाडामा नदिने घरबेटी सरस्वती प्रधान र कोठा सानो जात भएकै कारण नपाउने रुपा सुनारको यो घटनाले सामाजिक सञ्जालमा जताततै यही विषयमा आ आफ्ना तर्क , बिचार र कमेन्टले रगडिएको छ ।

एकातिर नेवा सघ सस्था रुपा सुनारले गलत आरोप लगाइन भन्दै आन्दोलन गरेका छन् भने दलित समुदायहरू विभिन्न जिल्लामा समेत शिक्षा मन्त्रीको पुत्ला दहन र राजीनामा माग गर्दै आन्दोलन गरेका छन् । कोटा र कोठाका बहस , आरक्षण लिने अनि दलित भन्यो भनी मुद्दा दर्ता गर्ने ? जस्ता तर्कहरू आइरहेका छन् । सामाजिक सञ्जालमा लेखेका बिचार … बलराम तिमल्सिना यस्तो लेख्छन् ….

स्थिति कस्तो छ भने –
कुनै उच्च भन्ने जातको मान्छेको घरको सटरमा डेरी चलाउँछु भन्ने दलित र कुकुरका बच्चाको पसल गर्छु भन्ने बाहुन आए भने घरबेटीले कुकुरका बच्चाको पसल राख्न बाहुनलाई सटर भाडामा दिन्छ । 

चिकित्सक, शिक्षक या कानुन व्यवसायी छ तर दलित हो भन्ने थाहा पायो भने मागे जति रकम तिर्छु र अझ अग्रिम छ महिनाकै पैसा दिन्छु भन्दा पनि कोठा भाडामा दिन दश पटक सोच्छ तर उच्च भन्ने जातको मानिस आयो भने जहानको सङ्ख्या सोध्छ तर पेसा सोध्दैन। पेसा दुई नम्बरी काम गर्ने रहेछ भने पनि चेलीबेटी बेचबिखन गर्ने मान्छे रहेछ भने पनि, भ्रष्टाचार मुद्दामा सजाय भोगेर भर्खरै निस्केको या बलात्कार मुद्दामा फरार रहेको अभियुक्त रहेछ भने पनि बुढी आमा या बाबुले मान्दैनन् भनेर फर्काउँदैन । त्यस्तो मानिसलाई कोठा भाडामा दिँदा धर्म पनि धर्मराउँदैन , देउता पनि रिसाउँदैनन्। तर दलितलाई कोठा भाडामा दिनु पर्‍यो भने बुढी आमा , बुढो बाऊ धर्म ईश्वर सब रिसाउँछन्।

म यो घरको कोठा या तला यत्ति भाडा दिन्छु भनिसकेपछि पनि दलित भएकै कारणले दिन्न भन्नेले दलितको छोरो छोरी माग्न आउँदा या आफ्नो छोराले दलितकी छोरी बिहे गर्न खोज्दा दिन्छ होला त? 
पटक्कै दिँदैन । रुकुम मै देखिसकियो नि । अब भन्नु होस त- जात वाला समस्या कोसँग छ ?, को हो यो समाजको सबैभन्दा थोत्रो बिचार बोकेर हिँड्ने ?, को हो मान्छेमाथि अमानवीय व्यवहार गर्ने समुदाय ?, के यस्तो सोचलाई उन्नत र सुसंस्कृत मान्न सकिन्छ ?

हामीले भाडामा लगाउन भनेर राखेको घर , तला या कोठा फलानो जातलाई दिन्छु र फलानो जातलाई कुनै हालतमा दिन्न भन्छौँ भने हामी कानुनी हिसाबले मात्र अपराधी बन्दैनौँ बरु सामाजिक हिसाबले पनि असामाजिक चरित्रका जनावर सरह बन्छौँ।

आफ्नो सम्पत्तिमाथि हक छ भनेर कानुनै मान्दिन भन्ने हक , समाज नै मान्दिन या मलाई मेरो जात मात्र भए पुग्छ अरू कोही चाहिँदैन भन्ने सोचले एक्ले ढेडु त बन्न सकिएला तर सामाजिक प्राणी बन्न चैँ असम्भव छ। आउनु होस , मध्ययुगीन अमानवीय सोचबाट मुक्त बनौँ, इतिहासका भुलहरूप्रति क्षमायाचना गरौँ र मानिसलाई मानिसजस्तै व्यवहार गर्न थालौँ !

(याे सामग्री बलराम तिमल्सिनाकाे फेसबुकबाट लिइएकाे हाे ।)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्