प्रधानमन्त्रीले बालुवाटारबाट आज माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन गर्ने



काठमाडौँ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट सोमबार परीक्षणको रूपमा बिजुली उत्पादन हुँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपराह्न ४ बजे भर्चुअल माध्यमबाट माथिल्लो तामाकोसी आयोजना उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुन लागेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । असार मसान्तभित्रै आयोजनाको दोस्रो युनिटबाट थप ७६ मेगावाट बिजुली उत्पादन गर्ने तयारी गरिएको छ ।

माथिल्लो तामाकोसी ७६–७६ मेगावाटका ६ वटा युनिट छन् । भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य रहेको प्रवक्ता न्यौपानेले बताए ।

माथिल्लो तामाकोसी स्वदेशी लगानीको सबैभन्दा ठुलो आयोजना हो । शुरुआती लागत ३५ अर्ब रहे पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाव, ब्याजलगायतका कारण लागत भने बढेर झन्डै ८० अर्ब हाराहारी पुगेको छ । तत्कालीन प्रधानमन्त्री माथिल्लो यो आयोजनाको शिलान्यास गरेका थिए ।

आयोजनाले आज मात्रै विद्युत् गृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिवार मात्रै ढल्केबरदेखि न्यु खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।

यस्तै जिआइएस समेत चार्ज भएको छ । सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ । आजसम्म आयोजनामा जडान गरिएका उपकरण नो लोडमा चलाइएको थियो भने अब सोमबारदेखि ती उपकरणलाई लोडमा चलाइने छ ।

आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि यही असार १३ गतेदेखि १९ गतेसम्म आवश्यक तयारी गरिएको थियो । त्यसमा विशेष गरी प्रसारण लाइन व्यवस्थापनको काम गरिएको थियो ।

माथिल्लो तामाकोसी विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यु खिम्तीमा रहेको सवस्टेशनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागले यही असार १२ गते एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी दिएको थियो ।

सो अवस्थामा प्रणालीमा विद्युत् अपुग हुने भएकाले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटा समयका लागि विद्युत् कटौती भएको थियो । त्यस समयमा प्राधिकरणले कुलेखानी जलाशयको पानी प्रयोग गरी यथाशक्य विद्युत् कटौतीको समय कम गर्न प्रयास गरेको थियो । यसअघि आयोजनाको सुरुङमा पानी हालेर हाल पनि परीक्षणलगायतका काम नियमित गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्