फिलिपिन्समा सैनिक विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुग्यो



एजेन्सी । फिलिपिन्समा आइतार भएको सैनिक विमान दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या ५० पुगेको यहाँको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ । फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्ने क्रममा आइतबार दुर्घटनाग्रस्त भएको थियो ।

त्यसमा परेर आइतबार नै कम्तीमा पनि १७ जनाको मृत्यु भएको बताइएको थियो । सैनिकहरू चढेको उक्त विमानमा सवारमध्ये अरू घाइते थिए । ती घाइतेमध्ये केहीको मृत्यु भएपछि सोमबार मृतकको सङ्ख्या ५० पुगेको फिलिपिन्सको रक्षा मन्त्रालयले जानकारी दिएको हो ।
सी–१३० हर्कुलस विमानमा ९२ जना सवार रहेका बताइएको छ । सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थलमा अवतरण गर्ने क्रममा नजिकैको आवासीय क्षेत्रमा आइतबार मध्याह्न विमान दुर्घटनाग्रस्त भएको हो ।

स्थानीय सञ्चारमाध्यमहरूमा प्रसारित दृश्यहरू र प्रकाशित तस्बिरमा दुर्घटनाग्रस्त विमान भुँइमा बजारिएसँगै आगलागी भएको देखिएको छ । विमान दुर्घटनाग्रस्त भएको नजिकै घरहरु माथि बाक्लो कालो धुँवा पनि ती दृष्यमा देखिएको छ ।

सोमबार एक जना सैनिक जर्नेलले दिएको समाचारमा त्यस दुर्घटनामा ९६ जना यात्रु रहेका र तीमध्ये ५० जनाको ज्यान गएको छ । अरू घाइते रहेका छन् । उनका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेमा ४७ जना सैनिक छन् । अरू तीन जना गैर सैनिक नागरिक रहेका छन् । सो विमान यहाँको सेनाको रहेको बताइएको छ ।

सो विमान कागायान डी ओरोबाट दक्षिणी मिन्डानाओ द्वीपतर्फ सैनिकहरू लिएर गैरहेको थियो । उनले जोलोमा विमान अवतरण गर्न लाग्दा नजिकैको आवासीय क्षेत्रमा खसेको पनि बताए।

फिलिपिन्सको रक्षा मन्त्रालयले दुर्घटनाको कारणका बारेमा सरकारले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । सेनाका प्रवक्ताले सो विमानको दुर्घटनाका बारेमा आइतबार साँझदेखि नै अनुसन्धान सुरु भएको बताएका छन् ।-

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्