सैघाली खबर
दाङ,२६ माघ । प्रदेश नम्बर ५ को राष्ट्रियसभामा निर्वाचित सदस्यहरुलाई बिहीबार बिहान प्रमाणपत्र प्रदान गरिएको छ । निर्वाचन अधिकृत हेमन्त रावलले दाङ देउखुरी जिल्ला अदालत परिसरमा निर्वाचित सबै सदस्यहरुलाई टिका र खादा लगाएर प्रमाणपत्र प्रदान गरे । उनले सबैलाई बधाई र कार्यकाल सफलताको शुभकामना दिए ।
प्रदेश ५ मा एमालेले ४ तथा माओवादी र कांग्रेसले दुईरदुई सदस्य जितेका छन् । खुलामा विजयी भएका एमालेबाट रुपन्देहीका खिमलाल भट्टराई, माओवादी केन्द्रबाट अर्घाखाँचीका चन्द्र बहादुर खड्का र कांग्रेसबाट रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायले प्रमाणपत्र ग्रहण गरेका थिए । महिलामा विजयी एमालेबाट दाङकी कोमल ओली र रोल्पाकी मिना बुढा तथा काँग्रेसबाट दाङकी अनिता देवकोटालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसैगरी दलितमा विजयी एमालेबाट पश्चिम नवलपरासीका रामलखन चमार र अपांग तथा अल्पसंख्यक कोटामा विजयी माओवादी केन्द्रबाट रोल्पाका राजकुमार कुँवरलाई प्रमाणपत्र प्रदान गरिएको थियो । निर्वाचित सदस्यहरुलाई प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ र निर्वाचन कार्यालय प्रमुख विजयकुमार कार्कीले बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा माओवादी नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महरा, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सभामुख ओनसरी घर्ती, पूर्व अर्थमन्त्री बर्षमान पुन, एमाले उपमहासचिव एवं पूर्व अर्थमन्त्री बिष्णु पौडेल, एमाले ५ नं प्रदेश संसदीय दलका नेता शंकर पोख्रेल लगाएतका नेताहरुको सहभागिता थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।