वस्तुलाई गतिमा बुझेनौं भने समाज बदल्न सकिन्न



वस्तु र चेतनाका विषयमा आजको संसार बुझाईका हिसाबले दुई भागमा विभाजित छ तर हामी कुन पक्षका हिमायती हौं भन्ने कुराले समाजमा प्रभाव पारिरहेको हुन्छ ।

हाम्रा दार्शनिकहरुमा कसैले वस्तु वा पदार्थलाई प्रधान बनाएर संसारको ब्याख्या गरे त कतिपयले चेतना वा सोचलाई प्रधान बनाए । हरेक वस्तुलाई यही हेर्ने र बुझाई राख्ने तरिकालाई दृष्टिकोण भनेर हामीले बुझ्यौं ।

चेतना, सोच र बुद्धिलाई मार्गदर्शक सिद्धान्त बनाउनेहरू आध्यात्मिक विचारक र वस्तु, पदार्थ र प्रकृतिलाई प्रधान मान्नेहरू भौतिकवादी विचारक बनेर उदाए ।

परस्परको यो सम्बन्धलाई प्रधान र सहायक वा एक अर्कामा अन्तरसम्बन्धित हुन्छन् भनेर विधि अवलम्वन गर्नेलाई द्धन्दवादी भनेर बुझ्छौं भने एक पक्षीय बुझाई राख्ने तथा अन्तरसम्बन्धलाई नबुझ्ने विधिलाई अधिभुतवादी विधि भनेर चिन्छौं ।

चेतना जीवनसिल तत्व हो, जुन पक्ष पदार्थमा हुँदैन त्यसैले आध्यात्मिक विचारकहरूले प्रधान बनाएका होलान तर पनि पदार्थ सार्वभौम रहन्छ । पदार्थबाट चेतनाको विकास भएको मान्ने र चेतनाले पदार्थको विकास गर्छ आदिको बुझाई नै सही तथा गलत आजको नेपाली समाजमा ब्याप्त छ ।

अस्तित्वका हिसावले संसारमा सर्वप्रथम पदार्थ आयो की चेतना हामीले बुझेका छौं की संसार आफै एक विशाल पदार्थ हो जुन पदार्थको जगमा टेकेर एक कोषीय जीवबाट बहुकोषीयको विकाससँगै अरबौ वर्षपछि चेतनाको विकास भयो । लाखौं वर्ष पुरानो र अस्तित्वमा रहेको तत्वलाई गौण ठान्नेहरु नै आजका विकास प्रकृयामा पश्चगामी हुन् ।

पश्चगामी विचार बोकेर अग्रगामी समाजको परिकल्पना पनि आध्यात्मिक नै हो । जसबाट जुन सामाजिक अपेक्षा हो, त्यहाँ पुगिँदैन आज हामीले भोगिरहेको वस्तुगत अवस्था पनि त्यही हो ।

उक्त विषयमा सही बुझाई राख्दै विस्तृत खोज तथा अनुसन्धान गर्नु र समाजलाई मार्गनिर्देशन गर्नु हामी सचेत सामाजिक मानवहरुको दायित्व हो । जुन विषय रचनात्मक वा सिर्जनात्मक बनाउनु हाम्रै दायित्व हो जसप्रति हामी कति गम्भीर भएर लाग्छौं भन्ने कुराले सामाजिक रूपान्तरण र विकासको पक्षलाई मार्ग प्रशस्त गर्दछ ।

यो गर्न सक्यौं भने समाजले गति लिन्छ सकेनौं भने बिनासको बाटो पक्डन्छ । यही द्धन्दमा आजको नेपाली समाज दौडिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्