Banner Second

जुम्लामा वडाध्यक्षद्वारा दलित युवामाथि कुटपिट, गालीगलौज र जातीय विभेद

By Thah Online

July 08, 2021

काठमाडौँ । जुम्लाको सिञ्जा गाउँपालिका ६ का वडाध्यक्ष कालीबहादुर बुढाले स्थानीय दलित युवा बिवेन्द्र नेपालीमाथि जातीय गालीगलौज र कुटपिट गरेका पीडितले बताएका छन् ।

असार ६ गते वडाध्यक्ष बुढाले गाउँमा खानेपानीको योजना आएको भन्दै घर घरमा खानेपानी पुगेको दाबी गरेपछि स्थानीयले विरोध गरेका थिए । सोही क्रममा विरोध गर्दा वडाध्यक्ष बुढाले दलित युवा नेपालीलाई फोन नै गरेर जातीय गालीगलौज गरेका थिए ।

                                    फोटो : वडाध्यक्ष कालीबहादुर बुढा र पीडित दलित युवा बिवेन्द्र नेपाली।

उनले कुकुर भन्दै नेपालीलाई जातीय गालीगलौज गरेको अडियो नै सार्वजनिक भएको छ । त्यसपछि स्थानीयको सक्रियतामा घटना मिलाउन भन्दै वडा कार्यालयमा बैठक समेत राखियो । असार ८ गते राखिएको विवाद समाधान बैठकमा सबैका सामु वडाध्यक्ष बुढाले नेपालीमाथि जातीय गालीगलौजका साथै कुटपिट गरेको पीडित युवाले बताएका छन् । उनका अनुसार वडाध्यक्षले कुकुर भनेर विभेद गर्दै गालीगलौज गरेको र वडाध्यक्षका छोरा नवीन बुढाले कुटपिट गरेका थिए ।

आफूमाथि सार्वजनिक ठाउँमा जातीय विभेद र कुटपिट भएपछि पीडित युवा उजुरी लिएर जिल्ला प्रहरी कार्यालय जुम्ला पुगेका थिए । तर प्रहरीले प्रमाण नपुगेको भन्दै उजुरी दर्ता गर्न नमानेपछि पीडित युवा गुनासोको राखेपछि घटना बाहिर आएको हो ।

यसबारे आफूले राष्ट्रिय मानवअधिकार आयोग र दलित आयोगमा जानकारी गराएको पनि उनले बताएका छन् । तर जवाफ नआएपछि आफू अन्यायमा परेको उनले बताएका छन् । यसबारे वडाध्यक्ष बुढा र जिल्ला प्रहरी कार्यालय जुम्लामा सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।

पीडित युवाको  उजुरी