कतारको नयाँ क्वारेन्टाइन मापदण्डबारे जान्नै पर्ने कुरा !



कतारले नयाँ यात्रा नीति जारी गरेको छ। नयाँ मापदण्ड अनुसार कोभिड–१९ विरुद्ध खोपको पूर्ण मात्रा लगाएका नेपालीलगायत विदेशी नागरिकले कतार प्रवेश गरेपछि क्वारेनटाइन बस्नुपर्ने छैन। यो नियम १२ जुलाईबाट लागू हुनेछ। कतारले फाइजर, मोडेर्ना, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनिका खोपलाई मान्यता दिएको छ। यी खोप लगाएका व्यक्तिले क्वारेनटाइनमा बस्नुपर्ने छैन। तर, खोप लगाएको अवधि १४ दिन पुगेको हुनुपर्नेछ ।

कतारको स्वास्थ्य मन्त्रालयले बेइजिङ इन्सिच्युटले उत्पादन गरेको खोप बीबीआइबीबी–कोर्भ/सिनोफार्म र सिनोभ्याक बायोटेकले उत्पादन गरेको कोरोना भ्याक/सिनोभ्याकलाई भने सशर्त स्वीकार गरिने बताएको छ। यी खोप प्राप्त गरेका यात्रीको लागि कतार प्रवेशसँगै एन्टीबडी परीक्षण अनिवार्य गरिएको छ। एन्टिबडी परीक्षणमा पोजेटिभ देखिए क्वारेनटाइनमा बस्नुपर्ने छैन। अन्यथा निर्दिष्ट गरिएअनुरुप क्वारेनटाइन अवधि पूरा गर्नु पर्नेछ ।

कतार प्रवेश गर्नुअघि ७२ घण्टाभित्र गरिएको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट साथमा हुनु पर्नेछ। यस्तै, कतार प्रवेश गर्ने अन्य मुलुकका नागरिकलाई उसले ‘ग्रीन’,‘एल्लो’ र ‘रेड’ गरी तीन श्रेणीमा सूचीकृत गरेको छ। हाल नेपाल कतारको ‘रेडलिष्ट’ मै छ। त्यसैले नेपालबाट कतार आउने यात्रीले यहाँ प्रवेश गर्न पुनः आरटी–पीसीआर परीक्षण गर्नु पर्नेछ ।

‘ग्रीन लिस्ट’ मा परेका मुलुकबाट कतार प्रवेश गर्ने गर्भवती, सुत्केरी एवं ७५ वर्षमाथिका व्यक्तिलाई समेत पाँच दिन अनिवार्य ‘होम क्वारेनटाइन’ मा रहनुपर्ने व्यवस्था उल्लेख छ। त्यस्तै, कतार एवम् क्यूआईडी (कतारी आइडी) प्राप्त तथा जीसीसी (गल्फ कर्पोरेशन काउन्सिल) का नागरिकको सन्दर्भमा यदि कोभिडविरुद्ध स्वीकृतीको पूर्ण मात्रा लिएका वा पछिल्लो नौ महिनामा कोभिड निको भइसकेको खण्डमा कुनै किसिमको क्वारेनटाइनको आवश्यकता नपर्ने बताइएको छ ।

यस्तै, ४ वर्षदेखि १७ वर्षसम्म किशोर किशोरीले भ्याक्सिन लगाएका छैनन् र कतार फर्कदैं छन् भने उनीहरूले पनि आफ्नो भ्याक्सिनेटेट अभिभावक मध्ये १ जना सँगै होटेल क्वारेनटाइनमा बस्नु पर्नेछ। ‘ग्रीन जोन’ मा पर्ने देशका नागरिकले ५ दिन होम क्वारेनटाइनमा बस्नुपर्ने । चौथो दिनमा आरटी पीसीआर परीक्षण गर्नुपर्नेछ । नेगेटिभ नतिजा आएमा पाँचौं दिनमा डिस्चार्ज ।

‘एल्लो जोन’ मा पर्ने देशका नागरिकले ७ दिन होटेल क्वारेनटाइनमा बस्नुपर्ने। आफ्नै खर्च लाग्नेछ । छैठौ दिनमा होटेलमै आरटी पीसीआर परीक्षण गर्नुपर्नेछ । रिपोर्ट नेगेटिभ भएमा सातौँ दिनमा डिस्चार्ज ।

‘रेड जोन’ मा पर्ने देशका नागरिकले १० दिन होटेल क्वारेनटाइन बस्नुपर्ने। सुरुमै आरटी पीसीआर परीक्षण गर्नुपर्नेछ । नवौ दिनमा पुनः आरटी पीसीआर परीक्षण गर्नुपर्नेछ । नेगेटिभ रिपोर्ट आएमा दसौँ दिनमा डिस्चार्ज ।

त्यस्तै, ‘रेड लिस्ट’बाट प्रस्थान गर्ने खोप खोप लगाएका यात्रुले पनि प्रस्थानसँगै विमानस्थल तथा सिमानाकामा आफ्नै खर्चमा आरटी पीसीआर परीक्षण गर्नु पर्नेछ । यदि पोजिटिभ रिपोर्ट आएमा आइसोलेसन प्रोटोकल अपनाउनुपर्ने बताइएको छ । न्युज नेपालबाट साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्