‘कृ’ देशैभर हाउसफुल



सैघाली खबर

दाङ,२७ माघ । नेपाली फिल्म बजार यतिबेला ‘कृ’ मय बनेको छ । भ्यालेनटाइन डेको छेकोमा रिलिज भएको युवा स्टार अनमोल केसी र नव-नायिका अदिती बुढाथोकी अभिनित फिल्म ‘कृ’ ले हिजोबाट देशभरका करीब सय बढी हलमा प्रदर्शन सुरु गरेको छ । मल्टिप्लेक्समा उच्च शो पाएको फिल्मले पहिलो दिन सुखद ओपनिङ गर्न सफल भएको छ ।

फिल्मको ‘फर्स्ट डे’ ओपनिङ अकुपेन्सी ६५ प्रतिशतको आसपासमा रह्यो । अनमोलको बढ्दो क्रेज शुक्रवार विहानदेखि साँझसम्म सिनेमा घरहरुमा उत्साहजनक देखिन्थ्यो । उनका ‘डाईहार्ट’ युवती फ्यानहरुको हलमा बाक्लै घुइँचो थियो । इन्स्टाग्राममा फलो गर्ने अदितीका फ्यानहरु पनि सिनेमा घरहरुमा उल्लेख्य देखिन्थे ।

‘लभर व्वाई’ को भूमिकामा खुब रुचाइएका अनमोललाई एक्सन अवतारमा पनि दर्शकहरुले तारिफ गरेका छन् । उनको क्यूटनेशमा ‘वाउ’ भन्ने यूवतीहरु पनि उतिक्कै देखिए । राजधानीका गोपीकृष्ण, गुण, गंगा, अष्टनारायणजस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हलमा ‘कृ’ ले शुक्रवार पकड जमायो । विहानको शोमा गोपीकृष्णको ४ वटा पर्दा हाउसफूल रहेका थिए ।

उता, राजधानीको मुख्य मल्टिप्लेक्स क्युएफएक्स अन्तर्गतको सिभिल मल, जय नेपाल र कुमारी हलमा पनि फिल्म हेर्ने दर्शकको चाप गज्जब थियो । विग मुभिज, एफक्यूव, विएसआर मुभिज जस्ता मल्टिप्लेक्स हल पनि दर्शकले भरिभराउ थिए । अपेक्षा गरे झैँ शुक्रवार दर्शकको चाप नदेखिए पनि भोली शनिवार आक्रामक हुनेमा निर्माण पक्ष विश्वस्त छ ।

हलबाट निस्कँदै गर्दा युवतीहरुले अनमोलको दुई फरक लुक्सको तारिफ गरे । अभिनयलाई औसत भने । पुरुष दर्शकहरुले भने नायक अनुप विक्रम शाहीको कामलाई उत्कृष्ट भनेका छन् । उनको अभिनयमा युवतीहरु पनि ‘दिवाना’ भए । फिल्मको ब्याकग्राउण्ड म्यूजिक र मेकिङ अब्बल छ । अनमोलले आफूलाई मिहिनेत गर्न सक्ने कलाकारको रुपमा प्रमाणित गरेका छन् । पैसा खर्च गर्न निर्माताले कञ्जुस गरेका छैनन् ।

फिल्मले पहिलो दिन अर्थात्, शुक्रवार ६० देखि ७० लाखको आसपासमा कलेक्सन गरेको हुन सक्ने अनुमान गरिएको छ । मोफसलका प्रमुख स्टेशनहरु पोखरा, विर्तामोड, दमक र चितवनका पर्दाहरुमा पनि ‘कृ’ ले पहिलो दिन सुखद कलेक्सन गरेको छ । तर, अपेक्षा गरे अनुसार भने छैन । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता श्री पराजुली हुन् ।

‘कृ’ मा अनमोल केसी, अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मका निर्देशक सुरेन्द्र पौडेल हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्