कैलालीमा अन्तरजातीय बिहे : प्रकाश- भन्छन् हामी उमेर पुगेपछि फेरि एक हुन्छौँ



धनगढी । कैलालीको भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल  अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य भएका  जोडीलाई अलग्याएर प्रहरीले आफन्तको जिम्मा लगाएको छ । प्रकाशले भने आफूहरूलाई उमेर नपुगेको कारण देखाउँदै अलग्याए पनि उमेर पुगेपछि पुनः एक हुने बताएका छन् ।

उमेर नपुगेको कारण देखाएर मालतीलाई आफूबाट अलग गराउने षडयन्त्र भएको बताउँदै उनले भने, ‘टीकापुर पार्कमा घुम्न गएका बेला एक वर्ष अघि हाम्रो भेट भएको थियो, सोही बेलादेखि हामीबिच प्रेम सम्बन्ध थियो । दुवैको सहमतिमा हामीले बुटवल गएर विवाह गर्‍यौँ । तर अहिले उमेर नपुगेको भनेर कागजपत्र समेत नगरी उसलाई मबाट अलग गराइएको छ । हामी उमेर पुगेपछि फेरि एक हुन्छौँ ।’ आफूहरूलाई झुकाएर कैलाली बोलाएर मालतीको परिवारले अलग गराएको प्रकाशको भनाइ छ ।

असार पहिलो साता घरबाट भागेर अन्तरजातीय विवाह गरेका भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र जानकी गाउँपालिका–८ की मालती रावललाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले दुवै जनाको उमेर नपुगेका कारण सम्झाई बुझाइ गरेर परिवारको जिम्मा लगाएको जानकारी दिए । प्रहरी नायब उपरीक्षक विष्टका अनुसार प्रकाशको उमेर १९ र मालतीको उमेर १८ वर्ष मात्र छ ।

अन्तरजातीय विवाह गरेका कारण धम्की आएको दाबी गर्दै कैलालीबाट नव दम्पतीले सामाजिक सञ्जाल (ट्विटर)मा भिडियो पोस्ट गर्दै आफूहरूलाई परिवारले स्वीकार नगरेको भन्दै सहयोगका लागि अपिल गरेका थिए ।  ट्विटरमार्फत सार्वजनिक सो भिडियो कैलालीको जङ्गलबाट पोस्ट गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले उनीहरू असार ४ भागेर बुटवल गएर बसेका र बिहीबार मात्रै भजनी आएर केटाकै घरमा बसेको बताए । उनका अनुसार केटाकेटीले बुटवलबाट कैलाली आउने क्रममा कैलाली र बर्दिया जोड्ने कर्णालीको सत्तीपुल पारि जङ्गलमा भिडिओ बनाएर फेसबुकमा अपलोड गरेका थिए । सोधपुछका क्रममा इलाका प्रहरी कार्यालय भजनीमा प्रकाशले र जिल्ला प्रहरी कार्यालय कैलालीमा मालतीले सो कुरा बताएको प्रहरीको भनाइ छ । प्रकाश र मालतीको उक्त भिडियो सार्वजनिक भएपछि नै प्रहरीले घटनामा चासो देखाएको थियो ।
तर भजनी नगरपालिका–४ स्थित प्रकाशको घरमा पुगेपछि शुक्रवार आएको २५–३० जनाको समूहले युवतीलाई छुटाएर लागेका थिए  ।   नातामा प्रकाशका बाजे पर्ने भजनी नगर कार्यपालिका सदस्य समेत रहेका प्रताप ताम्राकारले शुक्रवार दिउँसो साढे १ बजेतिर युवतीलाई २५–३० जनाको समूहले  मालतीलाई लगेको थियो । दुवै जनाको उमेर २० वर्ष भन्दा कम रहेको छ । 

रुकुम पश्चिममा भएको घटना दोहोरिने धम्कीपूर्ण म्यासेज आएको जानकारी गराउँदै उनीहरूले जीवन बचाउन अपिल गरेका थिए । अन्तरजातीय विवाहका कारण भएको झडपमा रुकुम पश्चिममा जाजरकोटका २१ वर्षीय नवराज विक सहित ६ जनाको ज्यान गएको थियो । तर मालतीको परिवारले भने अन्य कुनै उद्देश्य नभएर उनीहरूकै भविष्यका लागि एक अर्कालाई अलग गरेको जनाएको छ ।

उनका ठूलोबुवा गणेश रावलले जातीयताको कारण नभएर केटाकेटीको उमेर पनि नपुगेकाले उनीहरूकै भविष्य उज्ज्वल होस् भनेर अलग–अलग गर्न बाध्य भएको बताए । रावलले छोरीलाई प्रकाशबाट छुटाएर अन्य गतिविधि गर्ने उद्देश्य आफ्नो परिवारको नरहेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्