खोटाङका मृतक विश्वकर्मालाई उत्पीडित समान्तर समाज कतारद्वारा सहयोग 



सुनसरी । गत मे १९ तारिका दिन कतारमा मृत फेला परेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे इजाराका चन्द्रबहादुर लुहार विश्वकर्माको परिवारका लागि आर्थिक जुटेको छ । विश्वकर्मा कामपश्चात् कम्पनीबाट फर्किएपछि खानपिन गरेर सुतेको अवस्थामा आफ्नै कोठामा मृत फेला परेका थिए । हाल उनकोको छोरीहरूको पठन–पाठन एवं घरायसी कामका लागि कतारमै रहेका शुभेच्छुकको पहलमा आर्थिक सहयोग जुटाइएको हो । 

विश्वकर्माको छोरीको शिक्षादीक्षा एवं घर खर्च चलाउनका लागि सहयोग पुर्‍याउने उद्देश्यले उत्पीडित समानान्तर समाज कतारका अध्यक्ष कुमार विश्वकर्माको पहलमा एक लाख ५० हजारभन्दा बढी रकम सङ्कलन गरेर मृतक परिवारलाई प्रदान गरिएको छ ।

गणेश दर्नाल, किशोर दर्नाल, इन्द्र विश्वकर्मा, गणेश घिमिरे, प्रेमविक्रम लुहार विश्वकर्मा लगायतको सक्रियतामा विभिन्न जिल्लाका ३९ जना दाताबाट जुटाइएको सहयोग रकम आइएमई गरेर चन्द्रबहादुरको परिवारको नाममा पठाएको उत्पीडित समानान्तर समाजले जनाएको छ ।

रोजगारीका सिलसिलामा केही वर्षअघि मात्र कतार पुगेका चन्द्रबहादुरको शव गत जेठ ३१ गते नेपाल ल्याइएको थियो । कोभिड–१९ को महामारीका कारण उनको शव स्वदेश ल्याउन सकस भएको आफन्तको भनाई छ । 

चन्द्रबहादुरको दाहसंस्कारपछि कतारमा नेपाली दाजुभाइ तथा आफन्तले शोक भेला गरेको छ । शोक सभामा उत्पीडित समानान्तर समाज कतारका अध्यक्ष विश्वकर्मा सङ्कलित रकम चन्द्रबहादुरको छोरीहरूको पढाइ लेखाई र आवश्यक खर्चमा सदुपयोग हुने विश्वास व्यक्त गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्