वैदेशिक रोजगार व्यवसायीहरूको इजाजत पत्र ३ वर्षका लागि नवीकरण हुने



काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायीहरूको इजाजत पत्र ३ वर्षका लागि नवीकरण गर्ने भएको छ । अघिल्ला दुई वर्षसम्म वार्षिक सय जना कामदार पठाउन नपाएका म्यानपावर कम्पनीको इजाजत पत्र नवीकरण गरिदिने मन्त्रिपरिषद्को असार १४ गतेको निर्णयपछि इजाजत पत्र तीन वर्षका लागि वा आगामी एक आर्थिक वर्षका लागि मात्रै नवीकरण गर्ने भन्ने विषयमा विभाग र व्यवसायीबिच फरक–फरक दृष्टिकोण देखिएको थियो ।

सत्तारुढ नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका महासचिव डिक बहादुर खत्री (कुमार)ले पटक–पटकको छलफलपछि विभागले रित पुगी आएका आवेदनको ब्यहोरा वा आवश्यक कागजात हेरेर इजाजत पत्र प्राप्त संस्थाको इजाजत पत्र ३ वर्षका लागी नवीकरण गरिदिने भएको मध्यान्हलाई बताए । उनले त्यसको यथोचित फाइदा उठाउन व्यवसायीहरूलाई आग्रह समेत गरेका छन् ।

वैदेशिक रोजगार ऐनको दफा १२ बमोजिम व्यवसायीले चाहेमा एकै चोटि तीस हजार रुपैयाँ नवीकरण दस्तुर बुझाएर तीन वर्षका लागि इजाजत पत्र नवीकरण गर्न सक्ने प्रावधान छ । तर मन्त्रिपरिषद्को निर्णयपछि विभागले सकेसम्म एक वर्षका लागि मात्र इजाजत नवीकरण गरिदिने सोच बनाएको बताइएको थियो । तर शुक्रबाह्रपछि विभाग व्यवसायीहरूको माग अनुसार इजाजत नवीकरण गर्न तयार भएकोले स्थिति सहज भएको खत्रीले बताउनु भयो ।

विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले पनि ऐन र नियमावलीको प्रावधान पूरा गरेर आउनेहरूको इजाजत नवीकरण गर्दा तीन वर्ष अवधिका लागि नै नवीकरण गरिदिने जानकारी दिनु भयो ।

वैदेशिक रोजगार नियमावलीको नियम ७ मा बैंक ग्यारेन्टीको अवधि कम्तीमा पाँच वर्षको हुनुपर्ने र उक्त बैङ्क ग्यारेन्टीको अवधि समाप्त हुनु भन्दा एक वर्ष अगावै पुनः अर्को अवधिको लागि त्यस्तो बैङ्क ग्यारेन्टीको अवधि नवीकरण गराई विभागसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । त्यस विषयमा विभाग र व्यवसायीको फरक फरक बुझाइरहेको थियो । महानिर्देशक दवाडीले नवीकरण गर्दा बैङ्क ग्यारेन्टी पुरै अवधिको हुनुपर्ने बताउनु भयो । मध्यान्हबाट साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्