इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली च्याम्पियन



इङ्ल्याण्डको युरोकपको उपाधि जित्ने सपना चकनाचुर बनेको छ । पेनाल्टी सुटआउटमा इङ्ल्याण्ड ३–२ ले इटालीसँग पराजित बनेको हो ।

लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलमा लुक शाले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । यता, इटलीबाट ६७ मिनेटमा लियोनार्दो बनुचीले बराबरी गोल फर्काएका थिए ।

अतिरिक्त समयमा भने दुबै टोलीले कुनै गोल गर्न सकेनन् । इटलीले युरोकप जितेको यो दोस्रो अवसर हो । यसअघि १९६८ मा इटलीले पहिलोपटक यो उपाधि जितेको थियो । सन् २००० र २०१२ मा भने फाइनल पुगेर इटली पराजित भएको थियो ।

यससँगै इटाली पछिल्ला ३४ खेलमा अपराजित पनि बन्न पुगेको छ । युरोकपमा इटालीले अहिलेसम्म सबै ७ खेल जित्यो, उसले समूह चरणमा टर्की र स्विट्जरल्यान्डलाई समान ३–० तथा वेल्सलाई १–० ले हराएको थियो ।

अन्तिम १६ मा अस्ट्रियालाई अतिरिक्त समयमा २–१, क्वाटर फाइनलमा बेल्जियमलाई २–१ र सेमिफाइनलमा स्पेनलाई टाई ब्रेकरमा ४–२ ले हराएर इटाली फाइनलमा पुगेको थियो ।

यता, इङ्गल्यान्डले सुरुवाती खेलमा क्रोयशियाविरुद्ध प्रतिस्पर्धात्मक १–० को जित निकालेको थियो। दोस्रो खेलमा स्कटल्यान्डसँग गोलरहित बराबरी खेलेको इङ्गल्यान्ड समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रलाई १–० ले हराएको थियो । अन्तिम १६ मा जर्मनीलाई इङ्गल्यान्ड २–० ले हरायो । त्यस्तै, क्वार्टर फाइनलमा युक्रेनविरुद्ध ४–० को जित निकालेको थियो ।

डार्क हर्स मानिएको डेनमार्कलाई सेमिफाइनलमा २–१ ले हराउँदै इङ्गल्यान्ड फाइनल पुगेको थियो ।

युरोपको फाइनलमा इङ्गल्यान्डले स्थान बनाएको यो पहिलो पटक थियो । १९६६ को विश्वकपपछि इङ्गल्यान्ड कुनै पनि ठुला प्रतियोगिताको फाइनलमा स्थान बनाएको यो पहिलो पटक भएको र यो अवसरलाई सदुपयोग गर्दै च्याम्पियन बन्ने उसको सपना भएपछि चकनाचुर बन्न पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्