घोडाघोडी नगरपालिमा खेल मैदानको रूपमा प्रयोग गर्दै आएको सरकारी जग्गा स्थानीयद्वारा अतिक्रमण



हरिश बम ,कैलालीको घोडाघोडी नगरपालिका ३ भोजपुर स्थित स्थानीय एक क्लबले खेल मैदानको रूपमा प्रयोग गर्दै आएको सरकारी जग्गा स्थानीय द्वारा अतिक्रमण भइरहेको गुनासो आएको छ । स्थानीय डौना बेवरी युवा क्लबले खेल मैदानको रूपमा प्रयोग गर्दै आएको करिब १५ कठा क्षेत्रफलमा रहेको जुटपानी फिल्ड स्थानीय ४,५ जनाले अतिक्रमण गरिरहेको गुनासो आएको हो ।
वि स २०४८ साल देखी स्थानीय क्लबले क्रीडा स्थलको रूपमा प्रयोग गर्दै आएको उक्त खेल मैदान स्थानीय भागिराम चौधरी ,मनीराम चौधरी,पतिराम चौधरी, गुम्सन चौधरी र सनम चौधरीले अतिक्रमण गरिरहेको गुनासो क्लबका सदस्य हरूले गरेका छन् । स्थानीयका अनुसार खेल मैदानको पश्चिम पट्टी मैदान सँग जोडिने गरी उनीहरूले घर निर्माण गरेका थिए । घर निर्माणको केही वर्ष सम्म उनीहरूले केही नगरे पनि विगत १ वर्ष देखि भने खेल मैदान नै अतिक्रमण गर्ने गरी मैदानको बिच भाग बाट नै बाटो निकाल्ने सम्मको काम गरेको बताएका छन् । क्लबका एक सदस्य तथा स्थानीय रेखा चौधरीले अहिले पनि ५ देखि ७ मिटर सम्म खेल मैदानको जमिन अतिक्रमित भइसकेको बताए ।

उनले भने,‘मैदान नै अतिक्रमण गरी हडप्ने उद्देश्यका साथ अहिले मैदानको बिच भाग बाट बाटो निकाल्ने देखि दाउरा,ढुङ्गा थुपार्ने काम भइरहेको छ ।’ अतिक्रमणकारी पनि क्लबको सदस्य रहेका बताए । उनले भने,‘उनीहरू आफै पनि क्लबमा आबद्ध छन्, खेलमैदान हुँदा उनीहरूले पनि त्यहाँ खेल्ने गर्दछन् तर पनि उनीहरूबाटै अतिक्रमण हुनु दुखद रहेको बताए ।’ जसरी भए पनि क्लबले खेल मैदानको रूपमा प्रयोग गर्दै आएको जग्गा क्लबकै रहनु पर्ने र त्यसका लागि आफूहरू सकेसम्म पहल गर्ने उनीहरूको भनाइ छ ।

तर यता अतिक्रमणकारी भनिएका भागी राम चौधरीले भने आफूले अतिक्रमण नगरी बाटो मात्रै निकाल्न खोजेको बताएका छन् । उनले अन्य ठाउँबाट निकासीको लागि बाटो नभएका कारण मैदान प्रयोग गरेको यथार्थ भएको बताए । भागिरामले भने, ‘क्लब सँग बाटोको लागि कुरा गर्दा कुरा मिलेन, निकासी भएको एक ठाउँमा पनि छिमेकीले बार लगाइदिए,त्यति बेला यसबारेमा क्लबका कुनै सदस्यले पनि आवाज उठाइदिएनन् अनि मात्रै हामी मैदान बिचबाट बाटो निकाल्न बाध्य भयौ ।’
अहिले मैदानको बिच भाग बाट बाटो निकालिएको छन् भने मैदानमा दाउरा ,ढुङ्गा तथा बालुवा थुपारिएको छ । क्लबका अध्यक्ष एवम् स्थानीय खुसी राम चौधरीले बाटोको लागि क्लबले ६ मिटर छुट्टाउँदा पनि उनीहरू सहमत नहुनु र १४ मिटर नै बाटोको लागि खोज्नु मैदान नै हडप्ने उद्देश्य भएको बताउँछन् । अध्यक्ष चौधरी भने,‘६ मिटर बाटो दिन हामी सहमत भएकै हौँ,त्यो भन्दा कति आवश्यक हुन्छ बाटोको लागी,उहाँहरूको त नियत अर्कै हो , मैदान पुरै हडप्ने , हामी त्यसो हुन दिँदैनौ ,बरु स्थानीय न्यायिक समितिमा गएर हुन्छ जसो गरेर हुन्छ मैदान अतिक्रमण हुन दिँदैनौँ ’ ।
खेल मैदान त सबैको लागि प्रयोग हुने काम लाग्ने कुरा हो नि , यो कुनै व्यक्तिले प्रयोग गर्ने व्यक्तिगत सम्पत्ति त होइन भोलि उनीहरूको पनि छोरा छोरीले खेल्छन् सबैको लागि काम लाग्ने कुरा भएकाले यो मास्नु भनेको सबैलाई घाटा हुने उनको भनाइ छ । यता वडा अध्यक्ष कमल चौधरीले भने अतिक्रमणकारीको बचाउ गरेका छन् । वडाध्यक्षले उनीहरूको बचाउ गर्दै भनेका छन्,‘यो त अतिक्रमण होइन,यसलाई अतिक्रमण भन्नै मिल्दैन,यो त संरक्षण हो उनीहरूले संरक्षण गरिदिएका छन् ।’
तर धेरै कुरामा अतिक्रमणकारीको बचाउ गरेका वडा अध्यक्षले यस बारेमा सबै पक्ष बसेर छलफल गरी सहमति मैँ समस्या समाधान गर्ने भने बताए । पछिल्लो समय कैलालीमा सामुदायिक वनका छेउ किनार अतिक्रमण गरी घर टहरा निर्माणका श्रृखंला चलिरहँदा सार्वजनिक खेल मैदान अतिक्रमण गर्ने देखि नाला अतिक्रमणका घटना बढ्दै गएका छन् । तर यस विषयमा सम्बन्धित निकायको समय मैँ चासो नहुँदा समस्या जटिल बन्दै गइरहेका घटना पनि बढ्दै गएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्