१८ दिनदेखि बेपत्ता विना सापकोटाकाे घटना थप रहस्यमय बन्दै



असार १४ गतेदेखि बेपत्ता विना सापकोटाबारे थप जानकारी आएको छ । विनाकै बुबाको अनुसार सोही दिन राति ८ बजेर ४१ मिनेटमा विना नारायणी नदी किनारमा थिइन् । घटना थप रहस्यमय बनेको छ ।

आफ्नो फोन पनि केटा साथीसँग रहेपछि फोनविहीन बनेकी विनाले नारायणगढ लीलाचोक नजिकको एरियामा पुगेर एक व्यक्तिसँग फोन मागेकी थिइन् । उनले त्यो फोनबाट ११ सेकेन्ड उनै केटा साथी प्रवेशसँग बोलेकी थिइन् । आफूसँग फोन मागेर केही बोलेपछि फोन दिएर ती युवती नदी किनारतर्फ गएको ती व्यक्तिले आफूलाई जानकारी दिएको विनाको बुबा बताउँछन् । एउटी केटी आत्तिए जसरी हिँडेर किनारतर्फ लागेपछि घरमा अभिभावकलाई खोज्नका लागि समेत जानकारी गराएको ती युवाले विनाको बुबासँग बताएका छन् । सोही दिन राति ८ बजे भाटभटेनीअगाडि हिँडिरहेको देखिएपछि प्रहरीले बजार क्षेत्रको अन्य सिसी क्यामरामा उनको खोजी गरिरहेको थियो ।

चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले विनाको विषयमा थप जानकारी आएको बताए । उनले भने,‘नदी किनारतर्फ जाने एक पसलको सिसी क्यामराबाट उनी किनारतर्फ गएको देखिन्छ ।’

‘स्थानीयले एकै छिन किनारतर्फ एउटी केटी आत्तिँदै गएको देखेपछि खोजेको पनि रहेछन्,’ डिएसपी थापाले भने, ‘एकै छिन खोजे, नभेटेपछि स्थानीय घर फर्किए ।’

नदी किनारतर्फ गएकी उनको खोजी प्रहरी र आफन्तले तीव्र पारेको छ, तर भेटाउन सकेको छैन । प्रहरीले नियन्त्रणमा रहेका भनिएका प्रवेश हाल अस्पतालमा रहेको जनाएको छ । विनाको अभिभावकको सहमतिमा प्रवेशले विनालाई गैँडाकोटबाट सँगै लिएर भरतपुरतर्फ आएका थिए । उनले केही घण्टामै घर ल्याइदिने बताएको तर लामो समयसम्म पनि छोरी नआएपछि खोजी थालिएको बुबा जयश्वर सापकोटा बताउँछन् ।

प्रवेशविरुद्ध अहिलेसम्म दुई वटा उजुरी प्रहरीमा दिइएको उनको भनाइ छ । छोरीको अवस्था पत्ता नलागेको तर प्रवेशलाई भने अभिभावकको जिम्मामा छोड्ने प्रहरीले तयारी गरेकोमा उनले आपत्ति जनाएका छन् । न्युज २४ बाट साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्