अवैध फोन नियन्त्रण गर्ने प्रणाली जडान



नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को आयव्यय वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजदेखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताएका थिए ।

लामो समयको तयारी पश्चात् आजदेखि उक्त प्रणाली जडान गरिएको हो । प्राधिकरणले मोबाइल सेटको आयात पूर्व अनिवार्य रूपमा प्राधिकरणबाट स्तर स्वीकृति गर्न तथा आइएमइआई नम्बर दर्ता गर्नुपर्ने प्रावधान रहेको भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू भएको जनाएको छ ।

प्राधिकरणले एक सूचना सार्वजनिक गर्दै एमडीएमएस सिष्टम लागू भए पनि हाल सञ्चालनमा रहेका मोबाइल फोन सञ्चालनमा कुनै अवरोध नहुने जनाएको छ । “पहिलो चरणमा व्यावसायिक आयातकर्ताले मोबाइलको आयात गर्दा आइएमइआई रजिस्ट्रेसन मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टममार्फत गर्ने व्यवस्था मिलाइएको छ, उक्त प्रणालीलाई क्रमशः पूर्णरुपमा लागू गरी मोबाइलको आयात एवं प्रयोगलाई थप व्यवस्थित, भरपर्दो र सुरक्षित बनाइनेछ”, सूचनामा भनिएको छ । 

एमडीएम प्रणालीले कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने काम गर्छ । एमडीएमएसको सफ्टवेयर तथा हार्डवेयर राख्न प्राधिकरणले चाबहिलस्थित भवन निमार्ण गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्