अपराध

सिर्जना मृत्यु प्रकरण : ५ दिन बितिसक्दा पनि रहस्य खुलेन

By Thah Online

July 16, 2021

सिर्जना बस्नेत आफू बस्ने घर सामुन्ने अर्धनग्न अवस्थामा मृत फेला परेको पाँच दिन बितिसक्दा पनि उनको मृत्युसँग सम्बन्धित रहस्य पत्ता लाग्न सकेको छैन । असार २७ गते बेलुका परिवारसँगै खाना खाएर सुतेकी बिर्तामोड–५, झापाकी सिर्जना बस्नेतको असार २८ गते बिहान आफू बस्ने घर अगाडि अर्धनग्न अवस्थामा शव फेला परेको थियो ।

घटना शङ्कास्पद र संवेदनशील भएको भन्दै प्रहरीले धरानबाट ‘ट्रयाकर डग’ झिकाएर अनुसन्धान अगाडि बढायो । ‘ट्रयाकर डग’ मृतक बस्ने घरकै तीन तल्लासम्म पुगेर फर्किएको प्रहरी अधिकारी बताउँछन् । प्रहरीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक टोलीसमेत बोलाएर घटनास्थलमै शवको बाहिरी परीक्षण गरेको थियो ।

आइतबार बेलुका करिब आठ बजेसम्म घरमा भएकी सिर्जना सोमबार बिहान घर अगाडि मृत फेला परेको उनका दाजु रमेश बस्नेतले जानकारी दिएका छन् । चारतले घरको दोस्रो तलामा परिवारसँगै बस्ने सिर्जना चौथो तलामा सुत्ने गरेको उनको भनाइ छ। 

घरका सबै ढोकाहरू भित्रैबाट बन्द हुनु र खाना खाएर सुत्न गएकी सिर्जना बिहान घर बाहिर अर्धनग्न अवस्थामा मृत भेटिनुले घटना शङ्कास्पद बनाएको छ । प्रहरीले सूक्ष्म ढङ्गबाट घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

मृतक बस्नेतले प्रयोग गर्ने मोबाइल फरेन्सिक जाँचका लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख एवं डिएसपी सन्तोष आचार्यले जानकारी दिए । प्रहरीले घटनालाई हत्या र आत्महत्या दुवै कोणबाट अनुसन्धान गरिरहेको उनले बताए ।

इलामको साखेजुङ्ग मूल घर भएकी मृतक बस्नेत आफ्नी आमा तथा दाजुको परिवारसँग केही वर्षदेखि बिर्तामोड–५ स्थित सानिमाको घरमा भाडामा बस्दै आएकी थिइन् । उक्त घरमा प्रायः पारिवारिक नाता पर्ने मानिसहरू नै बस्ने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले सिर्जनाका आफन्तसँग घटनाको विषयमा बुझ्ने काम भइरहेको जनाएको छ । मृतकका आफन्तले सिर्जना छतको ‘वाल’मा बस्दा खसेको हुनसक्ने बताएका छन् । चारतले घरको छतको कोठामा आफन्त बहिनीसँगै सुत्ने सिर्जना त्यस दिन एक्लै थिइन् भने परिवारका अन्य सदस्य दोस्रो तलामा बस्दै आएका थिए । मृतकको टाउकोको पछाडिको भाग र कम्मरको भागमा चोट देखिएको प्रहरीले जनाएको छ ।