काठमाडौं । कोभिडको असरले उत्पादन घटेपछि ब्रोइलर कुखुरा मासुको मूल्य बढेर किलोको चार सय १५ रूपैयाँ पुगेको छ । एक महिनाकै अवधिमा कुखुरा मासुको मूल्य किलोमा एक सय रूपैयाँ बढेको हो ।
चल्ला, दानाको भाउ वृद्धि र कोभिडले जोखिम बढाउँदा ब्रोइलर कुखुरा थोरै उत्पादन भएकाले भाउ बढेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए । ‘एक महिनाकै अवधिमा किलोमा करिब सय रूपैयाँ मूल्य बढ्यो,’ बिसीले भने, ‘दुई हप्ताकै बीचमा चारपटक मूल्य बढेको छ ।’
कोभिडको कारण निषेधाज्ञा हुँदा किसानले कम चल्ला राखेकाले त्यसको असर अहिले बजारमा देखिएको हो । कोल्डस्टोरले कुखुराको मासु किलोको ३ सय ८० देखि चार सय रूपैयाँ किलोसम्ममा बेचेका छन् । काठमाडौं उपत्यकामा खुद्रा बिक्रेताले कुखुराको मासु शनिबार किलोको चार सय १५ रूपैयाँमा बिक्री गरे ।
काठमाडौंमा जिउँदो कुखुरा किलोको दुई सय ८० रूपैयाँमा बिक्री भएको छ । निषेधाज्ञा खुकुलो हुँदै जाँदा कुखुराको मासुको खपत पनि बढेको छ । अहिले होटल, रेस्टुरेन्ट सञ्चालनमा आएका छन् । उत्पादन कम र माग बढेपछि त्यसको असर बजारमा देखिएको छ ।
कोभिड सुरु भएपछि निकै घटेको मूल्य असारयता हप्तामै दुईपटकसम्म बढेको छ । कुखुरा मासुको मूल्य वृद्धि हुनुमा ह्याचरी उद्योग र बिचौलिया प्रमुख कारक रहेको कुखुरा उत्पादक किसानको आरोप छ । ह्याचरी उद्योग र बिचौलियाको मिलेमतोमा भाउ बढाएको नेपाल कुखुरापालक किसान संघको केन्द्रीय अध्यक्ष झलक पौडेलले आरोप लगाए ।
चितवन लगायत तराईका किसानले जिउँदो कुखुरा किलोको दुई सय ४० र उपत्यकाका किसानले दुई सय ६० रूपैयाँमा बेचिरहेको पौडेलले बताए । ‘जिउँदो कुखुरा दुई सय ६० मा बिक्री हुँदा मासुको मूल्य तीन सय ६० रूपैयाँ हुनुपर्ने हो,’ अध्यक्ष पौडेलले भने, ‘मिलेमतोमा चार सय रूपैयाँभन्दा माथि पुर्याइएको छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।