आयोगले आज राष्ट्रियसभा चुनावको परिणाम राष्ट्रपतिलाई बुझाउने



सैघाली खबर,
काठमाडौं २८ माघ, । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम आज राष्ट्रपति समक्ष बुझाउँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने तीनजना बाहेक अन्य ५६ जनाको नाम राष्ट्रपति समक्ष पेश गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रियसभाको निर्वाचनसँगै राजनीतिक दलले संघीय संसदमा पुर्याउनुपर्ने ३३ प्रतिशत महिलाको कोटा निर्धारण भइसकेकाले अब निर्वाचन परिणाम बुझाउन समस्या नरहेको आयोगले जनाएको छ ।

 

तीनजना मनोनयनको विषय राष्ट्रपतिको अधिकार रहेकाले आयोग त्यसमा प्रवेश नगर्ने प्रवक्ता नवराज ढकालले बताए ।

निर्वाचन आयोगलेशीतल निवासमा राष्ट्रपतिलाई राष्ट्रियसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुझाउँदैछ । तीनजना मनोनयनका लागि सरकारले सिफारिस गरे पनि दलहरुसँग सहमति नगरी एकलौटी सिफारिस गरिएकाले राष्ट्रपति थप छलफल गरेर निर्णय लिने पक्षमा देखिएकी छन् ।

निर्वाचन आयोगले ढिलोमा फागुन ५ गतेभित्र प्रतिनिधिसभाको पनि अन्तिम निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउनेछ । दलहरुले समानुपातिकतर्फ निर्वाचित हुनेहरुको नाम सोमवार साँझसम्म बुझाइसक्नुपर्नेछ । दलहरुले बुझाएका नाम कानुनी रुपमा ठीक भएमा सोमवार वा मंगलबारै अन्तिम परिणाम आयोगले बुझाउनेछ ।

 

आयोगले प्रतिनिधिसभाका निर्वाचित सदस्यहरुको अन्तिम परिणाम बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्