सातमध्ये ६ प्रदेशका मुख्यमन्त्री निश्चित को हुने देखिन्छ त सकेंत



सैघाली खबर,
काठमाडौं २८ माघ, । सात प्रदेशमध्ये ६ प्रदेशका भावी मुख्यमन्त्रीको नाम करिब तय भएको छ । वाम गठबन्धनको बहुमत रहेको प्रदेश नम्बर ४ मा भने एमालेले अझै संसदीय दलको नेता चयन गरेको छैन ।
संवैधानिक व्यवस्थाअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुने हुँदा मुख्यमन्त्रीको भावी नेतृत्व पनि दलको नेता चयनसँगै टुङ्गो लागेको छ । संवैधानिक व्यवस्थाअनुसार अब प्रदेश प्रमुखले मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढाउनुपर्नेछ ।

संवैधानिक कानुनका जानकार डा। चन्द्रकान्त ज्ञवालीले अब प्रदेश प्रमुखले बहुमतप्राप्त दलको नेतालाई मुख्यमन्त्री चयन गर्ने गरी प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘संविधानको व्यवस्थाअनुसार पहिलो चरणमा बहुमतप्राप्त दलको नेतालाई मुख्यमन्त्री चयनका लागि प्रक्रिया अघि बढाउनुपर्छ । यस प्रक्रियाबाट नभए दुईभन्दा बढी दलको समर्थनमा बहुमत पु¥याउने दललाई मुख्यमन्त्री चयनका लागि आह्वान गर्नुपर्ने हुन्छ । ’

पहिलो चरणबाट दुई प्रदेशमा मात्र मुख्यमन्त्री बन्ने सम्भावना छ । प्रदेश १ र ३ मा एमालेको बहुमत छ । प्रदेश १ मा शेरधन राई र ३ मा डोरमणि पौडेल संसदीय दलको नेता चयन भइसक्नु भएको छ । संवैधानिक व्यवस्थाअनुसार उहाँहरू नै मुख्यमन्त्री हुनुहुनेछ ।
प्रदेश १ र ३ बाहेकका अन्य पाँचै प्रदेशमा मुख्यमन्त्री एकभन्दा बढी दलको समर्थनमा हुने अवस्था छ । प्रदेश २ मा मधेसी गठबन्धनका तर्फबाट सङ्घीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउत मुख्यमन्त्री हुने निश्चित छ ।

शनिबार फोरम र राजपाबीच भएको पद बाँडफाँटको सहमतिअनुसार मुख्यमन्त्री फोरमले पाउनेछ । प्रदेश ५ को मुख्यमन्त्रीमा भने एमालेका शङ्कर पोखरेलको नाम निश्चित छ । पोखरेल एमाले प्रदेश ५ को दलको नेता चयन भइसक्नुभएको छ । प्रदेश ५ को मुख्यमन्त्रीमा उहाँ एकल दाबेदार समेत हुनुहुन्थ्यो ।
वाम दलबीच भएको सहमतिअनुसार प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादी केन्द्रले पाएको छ । दुवै प्रदेशमा माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरिसकेको छ । दलको नेता चयनसँगै एमालेको समर्थनमा दुवै प्रदेशमा हुने मुख्यमन्त्री पनि निश्चित भइसकेका छन् ।
माओवादीले प्रदेश ६ मा पूर्वउर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेतामा चयन गरेको छ भने प्रदेश ७ मा त्रिलोचन भट्टलाई संसदीय दलको नेतामा चयन गरेको छ । गठवबन्धनको सहमति र संवैधानिक प्रावधानअनुसार प्रदेश ६ र ७ मा क्रमशः शाही र भट्ट मुख्यमन्त्री हुनुहुनेछ ।
प्रदेश ४ मा मुख्यमन्त्री को हुन् स्पष्ट छैन । वाम गठबन्धनबीच भएको सहमतिअनुसार मुख्यमन्त्री एमालेले पाउनेछ । एमालेबाट पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ दुवैले मुख्यमन्त्रीमा दाबी गरिरहनुभएको छ । मुख्यमन्त्री छनोटअघि संसदीय दलको नेता चयन हुनेछ ।gorkhapatra

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्