अब अमेरिकामा विद्यार्थी भिसामा स्ट्याटस परिवर्तन गर्न सहज बनाउने नियमको घोषणा



अमेरिकामा युएससीआईएसले विद्यार्थी भिसामा स्ट्याटस परिवर्तन गर्न सहज बनाउने नियमको घोषणा गरेको छ । यो नियम अनुसार गैर आप्रवासी भिसामा अमेरिका आएर विद्यार्थी भिसामा स्ट्याटस परिवर्तन गर्न चाहनेहरूलाई अब विद्यार्थी भिसामा परिवर्तनका लागि आवेदन दिएपछि उक्त आवेदनबारे निर्णय नहुन्जेल स्ट्याटस जोगाउन पहिलेको आप्रवासी भिसा थपका लागि आवेदन दिनु नपर्ने भएको छ ।

विगतको नियम अनुसार यदि कोही भिजिटर लगायतका गैर आप्रवासी भिसामा आएको व्यक्तिले विद्यार्थी भिसामा स्ट्याटस परिवर्तन गर्नु परेमा स्ट्याटस परिवर्तनको लागि आवेदन दिइसकेपछि पनि गैर कानुनी उपस्थिति हुन नदिन आफ्नो सुरुको भिसा थपका लागि आवेदन दिनुपर्ने अवस्था सृजना हुँदै आएको थियो । आई २० मा विद्यार्थीका रूपमा कार्यक्रम सुरु हुनुभन्दा ३० दिन अगाडिसम्म पुरानै गैर आप्रवासी स्ट्याटस कायम राख्नुपर्ने बाध्यता रहेको थियो ।

विगतमा युएससीआईएसले आई २० मा उल्लेख गरिए अनुसार पढाई सुरु हुनुभन्दा ३० दिनभित्र मात्र आवेदन स्वीकृत गर्दै आएको थियो । त्यस कारण त्यो भन्दा अगाडिको अवधिमा स्ट्याटस कायम राख्नका लागि आवेदकले आफ्नो पहिलेको भिसा थपको आवेदन दिनुपर्ने अवस्था रहेको थियो ।

तर अब कुनै गैर आप्रवासी भिसामा अमेरिका आइसकेपछि विद्यार्थी भिसामा स्ट्याटस परिवर्तन गर्ने क्रममा आवेदन दिइसके पछिको ग्यापमा स्ट्याटस कायम राख्नुपर्ने झन्झट नहुने भएको छ । नयाँ नीति अनुसार युएससीआइएएसले पढाई सुरु हुन ३० दिन बाँकी रहँदाको अवधिदेखि नभई स्ट्याटस परिवर्तनको आवेदन स्वीकृत गरेको दिनदेखि नै विद्यार्थी भिसाको स्ट्याटस कायम रहने गरी आवेदन स्वीकृत गर्ने भएको छ ।

त्यस्तै आवेदकले स्ट्याटस परिवर्तनको आवेदन पेन्डिङ रहेको अवस्थामा अब पुरानो भिसाको अवधि बढाउनका लागि कुनै पनि आवेदन दिनुपर्नेछैन । तर सामान्यतया स्ट्याटस परिवर्तनको आवेदन दिने बेलामा पुरानो गैर आप्रवासी भिसाको अवधि भने सकिएको हुनुहुँदैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्