सैघाली खबर,विलासी जीवन, गलत खानपान तथा भागदौडले भरिएको छ, आजका मानिसको जिन्दगी । राति अबेरसम्म जाग्ने, बिहान ढिलोसम्म सुत्ने अनि उठ्नासाथ कपाकप खाना खाएर कार्यालयतिर दौडिने । कार्यालयमै घण्टौं बसेर काम गर्ने ।
यही कारण धेरैलाई व्यायाम गर्ने फुर्सद हुँदैन, जसका कारण शरीरमा अतिरिक्त बोसो जम्मा हुन्छ र त्यसले रक्तनलीमा अवरोध खडा गर्छ । रक्तनलीमा अवरोध खडा भएमा हृदयाघातको जोखिम निम्त्याउँछ ।
दैनिक जीवनचर्यामा परिवर्तन ल्याउने सानो प्रयासले पनि हृदयाघातको जोखिम कम गर्न सकिन्छ । यही समाजमा त्यस्ता मानिस पनि छन्, जसलाई हृदयघातको कुनै खतरा हुँदैन । कस्ता मानिसलाई हृदयाघातको खतरा हुँदैन त रु
कोलेस्टेरोल नियन्त्रण गर्ने
जसले कोलेस्टेरोल नियन्त्रण गर्छन्, उनीहरुलाई मुटुको समस्या हुँदैन । किनकि, मुटुको शत्रु हो, खराब कोलेस्टेरोल । खराब कोलेस्टेरोलका कारण रक्तनलीमा अवरोध सिर्जना भई हृदयाघात हुने सम्भावना उच्च हुन्छ । खराब कोलेस्टेरोलका कारण हुनसक्ने हृदयाघातको सम्भावन न्यून गर्न पनि उच्च रक्तचाप र उच्च कोलेस्टेरोललाई नियन्त्रण गर्नुपर्छ । औषधि तथा विभिन्न घरेलु उपायद्वारा कोलेस्टेरोल नियन्त्रण गर्न सकिन्छ ।
धुमपान त्याग्ने
धुमपान नगर्ने मानिसलाई हृदयाघातको सम्भावना कम हुन्छ । किनकि, धुमपानले हृदयाघातको जोखिम बढाउँछ । अझ एक पटक हृदयाघात भइसकेका व्यक्तिले त भुलेर पनि धुमपान नगरेकै राम्रो । रोमको सेन फिलिप्पो नेरी अस्पतालमा गरिएको एक अनुसन्धानले एक पटक हृदयाघात भइसकेका व्यक्तिले पुनः धुमपान शुरु गरेमा सोही वर्ष उसको मृत्यु हुने सम्भावना अधिक हुने देखाएको छ ।
तौल नियन्त्रण गर्ने
अनियन्त्रित तौलका कारण पनि रक्तनलीमा अवरोध सिर्जना हुन्छ । त्यसैले, आफ्नो उचाइका आधारमा तौल पत्ता लगाएर खानालाई नियन्त्रित गर्नुपर्छ । मोटा मानिसको दाँजोमा ठिक्क तौल भएका मानिस हृदयाघातको सम्भावनाबाट बच्न सक्छन् ।
मधुमेह नियन्त्रित राख्ने
जसले शुरुदेखि नै आफूलाई मधुमेहबाट बचाउनसक्छ, उसलाई हृदयाघातको जोखिम कम हुन्छ । मधुमेह रोगीको रक्तनलीमा रगत जम्ने सम्भावना प्रबल हुन्छ । त्यसैले, मधुमेहका बिरामीको रगतमा चिनीको मात्रा अधिक भएमा औषधि खानु आवश्यक हुन्छ ।
ड्राई फ्रुट्स खाने
काजु, बदामलगायत ‘नट्स’ खाने मानिसमा हृदयघातको सम्भावना कम हुन्छ । किनकि, यसले रक्तनलीमा जमेर बसेको बोसोमा सकारात्मक प्रभाव पार्छ । खराब कोलेस्टेरोललाई कम गर्छ । ड्राई फ्रुट्समा भिटामिन, मिनरल्स, फाइबर, पोटासियमलगायत पोषकतत्व भरपूर मात्रामा हुन्छन्, जसले हृदयलाई सुरक्षा प्रदान गरी हृदयाघातको जोखिमबाट बचाउँछ ।
जैतुन तेल प्रयोग गर्ने
हृदयाघातबाट त्यस्ता मानिस बच्न सक्छन्, जो तारेको, भुटेको र नुनको अधिक प्रयोग भएका खानेकुरा कम खान्छन् । खानामा तेलको प्रयोगले मुटुको रक्तनलीमा अवरोधको सम्भावना अधिक हुन्छ । खानामा कमभन्दा कम तेल प्रयोग गर्नुपर्छ । प्रयोग गर्नैपरे जैतुनको तेल (ओलिभ आयल० उत्तम मानिन्छ । जैतुनको तेलमा फ्याट्टी एसिड प्रचुर मात्रामा हुन्छ, जसले हृदयाघातको जोखिम कम गर्न मद्दत गर्छ ।
नियमित व्यायाम गर्ने
नियमित व्यायाम, योग या प्राणायाम गर्ने मानिसमा हृदयघातको जोखिम निकै कम हुन्छ । चिकित्सकको सल्लाह छ, दैनिक ४५ मिनट खलखली पसिना आउनेगरी हिंड्नुस्, कुद्नुस् या खेल्नुस् ।
यसबाट शरीरमा भएको बोसो पग्लिन्छ र रक्तनलीहरुमा अवरोध सिर्जना हुन पाउँदैन । यसैगरी, योग र प्राणायामले पनि शरीरमा भएका विषाक्त पदार्थ बाहिर निकालेर रक्तनलीलाई परिशुद्ध पार्छ । व्यायाम गर्ने, बोसोरहित खाना खाने, मद्यपान र धुमपान नगर्ने मानिस नै हृदयघातको जोखिमबाट बचिरहेका छन् । तपाईं ती मानिसको कोटीमा पर्नुहुन्छ त रु पर्नुहुन्न भने आजैबाट जीवनशैली सुधार्नुस् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।