PM Deuba addressing a programme in Kathmandu, on Tuesday, October 17, 2017. Photo: RSS

मुख्य समाचार

कोरोनाको तेस्रो लहरको तयारीका लागि प्रधानमन्त्रीलाई विज्ञले दिए १८बुँदे सुझाब

By Thah Online

July 21, 2021

कोभिड-१९ महामारी रोकथामका लागि पूर्व तयारी गर्न भन्दै आठ जना विज्ञले प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव पत्र बुझाएका छन् ।

उनीहरूले योग्य, क्षमता, सत्यनिष्ठ र इमानदार छवि भएका व्यक्तिलाई तत्काल स्वास्थ्य मन्त्रीमा नियुक्त गर्न भनेका छन्। उनीहरूले मन्त्रिपरिषद् फेरबदल हुँदा पनि स्वास्थ्य मन्त्री नफेरिने गरी योग्य व्यक्तिलाई नियुक्ति गर्न आग्रह गरेका छन्। 

अस्पतालको बेड, एचडीयू, आइसीयू र भेन्टिलेटरको सङ्ख्या बढाउन पनि उनीहरूले माग प्रस्तुत गरेका छन् । कोभिडको परीक्षण बढाएर, आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङमा वृद्धि गर्न पनि सुझाव छ ।

कोरोना रोकथामका लागि लकडाउन र सचेतनाका उपाय मात्र पर्याप्त नभएको भन्दै उनीहरूले उपचारका लागि स्वास्थ्य प्रणालीको क्षमतालाई अधिकतम स्तरमा बढाउन आवश्यक भएको बताएका छन् ।  १८ वर्षभन्दा माथिकालाई यथाशीघ्र खोप लगाउन आग्रह गर्दै खोप कार्यक्रममा निजी क्षेत्रलाई सरकारी सहयोगमा संलग्न गराउन भनेका छन् ।

अक्सिजन उत्पादन र आपूर्ति क्षमतामा वृद्धि गरी सहरका वडा र गाउँपालिकामा अक्सिजन बैङ्क स्थापना गर्न उनीहरूको माग छ । राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहितको सुझाव तथा सल्लाहलाई मान्न पनि भनिएको छ । अस्पताल जानुपर्ने बिरामीका लागि सरकारले नि:शुल्क यातायात र विपन्नहरूको लागि खाद्य सुरक्षा सुनिश्चित गरेर मात्र बन्दाबन्दीको दुष्प्रभाव घटाउन सकिने उनीहरूको भनाइ छ। 

प्रत्येक वडा र पालिकाहरूमा केन्द्रीय तथ्याङ्क सूचना प्रणालीसँग जोडिएको सूचना पार्टी राख्न र खाद्य सुरक्षामा समेत ध्यान दिन उनीहरूको आग्रह छ। खोप र औषधिको क्लिनिकल ट्रायलमा कुनै सङ्कोच नमानी संलग्न हुन सरकारलाई उनीहरूको आग्रह छ। अन्य देशमा थप परावर्तन भइरहेको भारतको डेल्टा भेरियन्टको सन्दर्भमा यसको म्युटेसन क्षमतालाई गम्भीरतापूर्वक लिन भनिएको छ। नेपालमा पनि यस्तो म्युटेसन हुन सक्ने भन्दै यसप्रति नेपालका वैज्ञानिकहरू सतर्क रहनुपर्ने उनीहरूको भनाइ छ।

अनुदान वा खरिद गरेर भए पनि खोप उपलब्ध गराउन कूटनीतिक नियोगको दक्षता दोब्बर हुन आवश्यक रहेको र आफ्नो जनसंख्याभन्दा धेरै गुणा बढी खोप भण्डारण गरेका पश्चिमा देशहरूको सङ्कीर्ण राष्ट्रवादविरुद्ध आवाज उठाउनसमेत उनीहरूको आग्रह छ।  विज्ञप्ति जारी गर्नेहरूमा डा. महेश मास्के, डा. अरुणा उप्रेती, डा. शरद वन्त, डा. शिवकुमार राई, डा. बद्रीराज पाण्डेलगायत छन् ।