काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण बढ्दै



काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकले औँल्याएको छ।एक साता अघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा सङ्क्रमित सङ्ख्या रहेकोमा केही दिन देखियता बढ्दै गएर दैनिक ७ सयको हाराहारीमा सङ्क्रमित भइरहेका छन्। बुधवार उपत्यकामा चौबिस घण्टाभित्रमा परीक्षण भएका नमुनामध्येमा ६ सय ९७ जनामा कोरोना पुष्टि भएको छ।

निषेधाज्ञा खुकुलो भएसँगै भएको लापरबाहीको कारण संंक्रमण दर बढ्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। उनले साउनदेखि यता सङ्क्रमित सङ्ख्या दैनिक रूपमा वृद्धि हुँदै गएको प्रवक्ता अधिकारीको भनाइ छ।

बुधवार दैनिक प्रेस ब्रिफिङका क्रममा अहिले सङ्क्रमण पुष्टि भएकाभन्दा बढी समुदायमा हुनसक्ने बताए। लक्षण नभएका, परीक्षण गर्न नगएकासहित अहिले देखिएको तथ्यांक भन्दा बढी समुदायमा हुन सक्ने उनको आङ्कलन छ।

‘एकातिर हामीले जनस्वास्थ्यको मापदण्ड उल्लंग्न गर्दै गइरहेका छौँ, अर्कोतिर लक्षण नभएका सङ्क्रमित परीक्षण गर्न जाने क्रम पनि कम छ,’ उनले भने।

लक्षणविहीनबाटै यो सङ्क्रमण थप फैलिने जोखिम भएकोले शङ्कास्पद व्यक्ति परीक्षणको लागि जान उनको सुझाव छ। मन्त्रालयका अनुसार दैनिक परीक्षण गर्न जाने मध्येमा सङ्क्रमित हुने दर करिब २५ प्रतिशतको हाराहारीमा रहेकोले यो संक्रमणन दर ठुलो सङ्ख्या रहेको अधिकारीले बताए।

उपत्यकामा सङ्क्रमण बढेपछि अस्पतालमा बिरामी भर्ना हुने दर बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा. अनुप बास्तोलाले बताए।बास्तोलाका अनुसार यो अस्पतालमा दैनिक १५ देखि २० जना लक्षणसहितका बिरामी अस्पताल पुगेका छन्।

उनीहरू मध्येमा ७ देखि १० जना दैनिक भर्ना हुने गरेका छन् भने अस्पतालको २४ बेड क्षमताको आइसियुमा २१ जना भर्ना भएका छन्। डा. बास्तोलाका अनुसार सङ्क्रमित हुनेहरूमा खोप केन्द्रमा खोप लगाउन लाइन बसेकाहरू मध्येबाट धेरै छन्। निषेधाज्ञासँगै नागरिकले जनस्वास्थ्यको मापदण्ड उल्लङ्घन गर्दै जानुले सङ्क्रमण पुन उकालो लागेको डा। बास्तोलाको तर्क छ।

‘ हामीले कडाइका साथ जनस्वास्थ्यको मापदण्ड पालना गरेनौँ भने यो थप भयावह हुन्छ,’ उनले भने।

गत चौबिस घण्टामा नेपालमा परीक्षण भएका कुल १२ हजार ६ सय १६ वटा नमुनामध्येमा २८ सय २८ जनामा कोरोना पुष्टि भएको हो। थप संक्रमित सहित नेपालमा कुल सङ्क्रमित सङ्ख्या ७ लाख २४ हजार ४ सय ५५ (एन्टिजेन परीक्षणसहित) छन्।

तीमध्येमा दोस्रो लहरको अवधिभित्रमा मात्र ४ लाख ५९ हजार २१ जना सङ्क्रमित भएका हुन्। मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा २ हजार ६६ जना जनरल तथा एचडियुु शड्ढया भर्ना भएका छन् भने ३ सय ११ जना आइसियुमा भर्ना भएका छन्। तीमध्येमा १ सय ३८ जना भेन्टिलेटरमा उपचार भइरहेको छ।

गत चौबिस घण्टामा थप ३० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। थप मृतकसहित नेपालमा ९ हजार ९ हजार ६ सय ३७ जना पुगेका छन्। तीमध्येमा दोस्रो लहरको अवधिमा ६ हजार ३ सय ३६ जनाको मृत्यु भएको हो।

हाल नेपालमा कुल २६ हजार ८ सय ३२ जना सक्रिय सङ्क्रमित छन्। तीमध्येमा २४ हजार ३ सय ४० जना होम आइसोलेसनमा छन् भने २४ सय ९२ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। गम्भीर लक्षण भएका ६ सय २७ जनाको आइसियुमा र १ सय ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नागरिक दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्