बैंकिङ सिष्टम ह्याक प्रकरण : के भन्छ राष्ट्रबैंक ?



काठमाडौँ । नेपाल राष्ट्र बैङ्कसहित १५ बैङ्कका बैङ्किङ सिस्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधवार साँझ राष्ट्र बैङ्कका प्रवक्ता, सह प्रवक्ता तथा विभिन्न बैङ्कका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ ।

बुधवार साँझ इमेल आए तापनि बिहीबार बिहानै सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज आएको राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका प्रमुख एवं प्रवक्ता देवकुमार ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार आफूलाई ह्याकर बताउने समूहले राष्ट्र बैङ्कसहित १५ वाणिज्य बैङ्कको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज भाइबर र म्यासेन्जरमा प्राप्त भएको थियो ।

‘मलाई भाइबर र म्यासेन्जरमा यस्तो म्यासेज प्राप्त भएको थियो, हामीले हाम्रो (नेपाल राष्ट्र बैङ्कको) र बैङ्कहरूको सिस्टम चेक ग¥यौँ, हाम्रो सिस्टम सुरक्षित छ, ह्याक भएको छैन, डराउनुपर्ने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘यो कार्य कानूनीरूपमा दण्डनीय हो, त्यसमाथि कारबाही हुन्छ ।

उहाँका अनुसार इमेल र कल गर्ने व्यक्तिको विषयमा थप अनुसन्धान भइरहेको छ तर कसले त्यस्तो म्यासेज पठाएको भन्ने विषयमा हालसम्म केही खुलेको छैन ।

कसैले धम्क्याउने प्रयोजनका लागि पनि उक्त इमेल र फोन गरेको हुनसक्ने आशङ्का गरिएको बैङ्कका अधिकारीहरू बताउँछन् । ह्याकरले पठाएको भनिएको म्यासेजमा नेपाल राष्ट्र बैङ्क, कुमारी बैङ्क, नेपाल बैङ्क, नबिल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, माछापुच्छ्रे बैङ्क, एनएमबि बैङ्क, एनआइसी एशिया बैङ्क, बैङ्क अफ काठमाडौँ , सिटिजन्स बैङ्क इन्टरनेशनल, सानिमा बैङ्क, नेपाल एसबीआई, एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट र हिमालय बैङ्कको नाम उल्लेख गरी ती बैङ्कको सिस्टम ह्याक गरेर रकम निकालिने बताइएको छ । साथै सो म्यासेजमा आफूले पठाएको सन्देशलाई हलुका रूपमा नलिन ह्याकरले चेतावनी पनि दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्