एमाले उर्लाबारी नगर कमिटीको बैठकस्थलमा तोडफोड



नेकपा (एमाले) मोरङको उर्लाबारी नगर कमिटीको विस्तारित बैठक स्थलमा तोडफोड भएको छ । उर्लाबारी नगरपालिका–८ स्थित एभरेष्ट फनपार्कमा हुने भनिएको बैठक स्थलमा बिहीबार बिहान ११ : ३० बजेतिर तोडफोड भएको हो ।

संस्थापन पक्षले नगर कमिटी घोषणा गर्ने र सदस्यता नवीकरणका लागि भन्दै विस्तारित बैठक बोलाएको र भेला सुरु हुनुअघि बैठक स्थलमा राखिएका कुर्सी तोडफोड भएको उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले बताए ।

उनका अनुसार बैठक स्थलमा तोडफोड गरेर कुर्सी, टेबल र झ्यालका सिसामा क्षति पुर्‍याइएको छ । बैठक विथोल्ने प्रयास स्वरूप तोडफोड गरिएको गौतमको भनाइ छ ।  ‘किन र कसले तोडफोड गर्‍यो भन्ने विषयमा हामी अनुसन्धान गर्दैछौं,’ उनले भने ।

ओली पक्षले माधव नेपाल समूहका कार्यकर्ताले तोडफोड गरेको हुन सक्ने आशङ्का गरेका छन् । तर, माधवकुमार नेपाल समूहका नगर संयोजक गङ्गा बाँस्तोलाले आफूलाई बैठकमा भएको तोडफोडबारे जानकारी नभएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्