साउदीले विदेशी कामदारको अकामाको समय बढाउने



काठमाडौँ : साउदी अरबले विदेशी कामदारको आवासीय अनुमति पत्र (अकामा)को समय बढाउने भएको छ । साउदी सरकारले कोरोना भाइरस महामारीका कारण आ–आफ्नो देशमै रोकिएका कामदारहरूको अकामाको म्याद अगस्ट ३१ सम्म बढाउन लागेको हो ।

 

साउदीबाट आफ्नो देश गएका र कोरोना महामारीका कारण साउदी फर्किन नपाएका विदेशी कामदारको अकामाको समय अगस्ट ३१ सम्म स्वतः बढ्ने त्यहाँको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

कोरोना सङ्क्रमण नियन्त्रणका लागि अपनाइएका विभिन्न मापदण्डका कारण समयमा देश छाड्न र फर्कन सक्ने अवस्था नरहेका कारण साउदी सरकारले यस्तो व्यवस्था गरेको बताइएको छ ।

 

साउदीको यस निर्णयसँगै अकामाको म्याद सकिएर रोजगारी गुम्ने अवस्थामा पुगेका नेपालीसहित अन्य देशका कामदारहरूलाई केही राहत मिलेको छ । यसका साथै साउदीले भिजिट भिसा र एक्जिट एण्ड इन्ट्री भिसाको म्याद पनि अगस्ट ३१ सम्म निःशुल्क बढाउने पनि स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । मध्यान्न दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्