लमही नगरको सार्वजनिक सुनुवाइ, लक्ष्यको ७२ प्रतिशत राजस्व सङ्कलन गर्न सफल,५८ प्रतिशत खर्च



लमही । लमही नगरपालिकाले आर्थिक बर्ष २०७७/७८ मा कुल बजेटको ५८.१९ प्रतिशत रकम विभिन्न योजनामा खर्च गर्न सफल भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को चालू र पुजिगत गरि ९९ करोड ७ लाख ४८ हजार २ सय ९६ रूपैया मध्यबाट ५७ करोड ६६ लाख ५ सय ६७ रूपैया ८३ पैसा खर्च गर्न सफल भएको हो ।  लमही नगरपालिकाले बिहीबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले ८ करोड ४१ लाख ५४ हजार ९ सय २९ रूपैया ३० पैसा राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिए ।

लमही नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा ११ करोड ६२ लाख ५० हजार रूपैया राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । सङ्कलित राजस्व लक्ष्यको ७२.३९१ प्रतिशत हो । लमही नगरपालिकाले नदीजन्य पदार्थ उत्खननको टेण्डर आह्वान गर्न नसक्दा लक्ष्य अनुसारको शतप्रतिशत राजस्व सङ्कलनमा चुकेको हो । नगरपालिकाले सबैभन्दा बढी प्राकृतिक स्रोत (नदीजन्य पदार्थ) मा मात्र ६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर नदीजन्य पदार्थ उत्खननका लागि समयमा टेण्डर आह्वान गर्न नसक्दा लक्ष्यमा पुग्न भने सकेन । नगरपालिकाले लक्ष्यको २५ प्रतिशत अर्थात् १ करोड ५० लाख ४४ हजार ९ सय ७९ रूपैया मात्र राजस्व सङ्कलन गरेको छ ।

नगरपालिकाले पूर्वाधार तर्फ ३५ ओटा ठेक्का प्रक्रियाबाट र २ सय १५ ओटा टोलबिकाश संस्थाबाट सम्पन्न गरेको छ । जस मध्य ६ किलोमिटर लामो सडक कालोपत्रे गर्न सफल भएको छ । त्यस्तै २९ किलोमिटर सडक ग्राभेल, साढे ६ किलोमिटर पक्की नाला, २८ ओटा कल्भर्ट, एउटा पुल लगायतका थुप्रै योजनाहरू सम्पन्न गरेको छ । नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पशु सेवा,  महिला तथा बालबालिका, कोभिड-१९, बिपद, सुचना तथा सञ्चार, प्रधानमन्त्री रोजगार, नेपाल सहरी, मुख्यमन्त्री ग्रामीण, लघु उद्यम, भूमि समस्या लगायतका क्षेत्रमा थुप्रै कार्यक्रम सम्पन्न गरेको छ ।

अन्य वर्षहरूमा भन्दा उल्लेख्य नगर बासी उपस्थित भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगर बासीले राखेका जिज्ञासा मेटाउँदै लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले समग्रमा लमही नगरपालिका समृद्ध उन्मुख रहेको बताए । नगर बासीको सुझावलाई आत्मसात् गर्दै आगामी वर्षमा अझै सक्रिय रूपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरे । योजना सम्झौता र निकासामा झन्झटिलो भएको नगर बासीको गुनासा प्रति मेयर केसीले सबैभन्दा ग्राभेलमा समस्या भएको महसुस गर्दै अबको योजना सम्पन्न गर्नका निम्ति असोजबाटै नदीजन्य पदार्थको ठेक्का आह्वान गर्ने र काममा सहज वातावरण सृजना गर्ने प्रतिबद्धता व्यक्त गरे । नगर बासीका गुनासा र सुझावलाई आत्मसात् गर्दै सोही अनुरूप अबको योजना तथा कार्यक्रम सम्पन्न गर्ने पनि बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य रेवती रमण शर्माले देशको समृद्धिका लागि ३ वट‌ै तहहरूले उल्लेख्य काम गरेको बताए । जनप्रतिनिधि बनेर आइसकेपछि देशमा समृद्धिका बाटाहरू खुलेको र सबैको सहकार्यमा विभिन्न क्षेत्रमा उल्लेख्य कामहरू सम्पन्न गर्न सकेको प्रति खुसी व्यक्त गरे । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको अध्यक्षता तथा प्रदेश सभा सदस्य रेवती रमण शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य सरस्वती गौतम, उपप्रमुख देवका बेल बासे लगायतका वक्ताले बोलेका थिए । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार किरण विक्रम शाहले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्