चितवनको माडीमा बागमती प्रदेश सरकारले गन्धर्व समुदायका लागि एकीकृत नमुना बस्ती निर्माण



चितवन । बागमती प्रदेश सरकारले चितवनको माडीमा एकीकृत नमुना बस्ती र गन्धर्व संग्राहालय तथा सांस्कृतिक केन्द्र निर्माण गरेको छ । साथै उनीहरूको संस्कृति र भेसभुसाको संरक्षणका लागि गन्धर्व सङ्ग्रहालय तथा सांस्कृतिक केन्द्रसमेत निर्माण गरिएको छ ।

माडी नगरपालिका–८ कान्तिपुरमा गन्धर्व समुदायका लागि ४६ वटा नमुना घर बनाएर बिहीबार हस्तान्तरण गरिएको छ । माडी नगरपालिका ८ कान्तिपुरमा निर्माण गरिएको एकीकृत नमुना बस्ती र गन्धर्व संग्राहलय तथा सांस्कृतिक केन्द्रको आज बिहीबार उद्घाटन गरिएको हो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले घरको साँचो गन्धर्व समुदायलाई हस्तान्तरण गरे । नमुना बस्ती र सांस्कृतिक केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले गाउँ गाउँमा सिंहदरबार भन्ने भनाइ मात्रै नभई व्यावहारिक रूपमा कार्यान्वयन भएको बताए ।

प्रदेश सरकारले विपन्न र पछाडि परेका समुदायलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै उनले कान्तिपुरका गन्धर्व समुदायका बाँकी घर पनि बनाउने प्रतिबद्धता जनाए ।

प्रदेश सरकारले आफ्ना लागि घर निर्माण गरिदिएपछि गन्धर्व समुदाय खुसी देखिएका छन् । स्थानीय डिलबहादुर गन्धर्वले पुर्खा र हामीले समेत नचिताएको कुरा कान्तिपुरमा पाएको भन्दै जीवन नै उज्यालो बनेको बताए । ‘हामी त चुहिने छानामुनि थियौँ, प्रदेश सरकारले पक्की एट्याच्ड ट्वाइलेट बाथरुम भएको घरमा ल्याएर राखिदियो, अब यी घरमा होमस्टे सञ्चालन गरेर आयआर्जनमा जोडिन्छौँ, खुसीको सीमा नै छैन हामीमा ।

कान्तिपुर गाउँको मूलबाटो नजिकै होमस्टेसमेत सञ्चालन गर्न मिल्ने गरी घरहरू बनाइएको छ । सूर्योदय कृषि सहकारी संस्थाका प्रबन्धक शिवजी गायकका अनुसार प्रदेश सरकारको ३ लाख, माडी नगरपालिकाको डेढ लाख र स्थानीय जनताको ४ लाख ५० हजार गरी ९ लाखको लागतमा घरहरू बनेका हुन् । दुई बेड रुम, एक लिभिङ रुम, एक किचन र दुई वटा एट्याच्ड ट्वाइलेट बाथरुम छन् ।

अहिले बनेको गन्धर्व सङ्ग्रहालय तथा सांस्कृतिक केन्द्रमा गन्धर्व समुदायको भेषभूषा , बाजागाजा, कृषि उपजहरुको प्रदर्शनी तथा बिक्री केन्द्र स्थापना गरिने सहकारीका प्रबन्धक गायकले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्