राप्रपाका अध्यक्ष कमल थापा भेट्न बूढानीलकण्ठ पुगे विप्लव



राप्रपा अध्यक्ष कमल थापा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बिच भेटवार्ता भएको छ । थापालाई भेट्न विप्लव शुक्रवार बिहान थापा निवास बुढानीलकण्ठ पुगेका छन् । 

भेटमा केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति र समसामयिक विषयमा कुराकानी भएको राप्रपा अध्यक्ष थापाले जानकारी दिएका छन् । बैठकबारे जानकारी दिँदै अध्यक्ष कमल थापाले पनि विप्लवसँग सौहार्दपूर्ण भेटघाट भएको बताएका छन् ।

उनले विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने पक्षमा राप्रपा रहेको पनि बताएका छन् । 

विप्लव थापालाई भेट्न प्रवक्ता विश्व प्रकाश शर्मा र हेमन्त प्रकाश ओलीसहित बुढानीलकण्ठ पुगेका थिए भने राप्रपाको तर्फबाट बुद्धिमान तामाङ, दीपक बोहरा र ध्रुववहादुर प्रधान पनि सहभागी भएको पार्टीका नेता राजाराम बर्तौलाले जानकारी दिए । 

यसअघि विप्लवले प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष डा. बाबुराम भट्टराईसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्