टप फिचर

सभापति चाम्लिङको टिप्पणी: ”एमालेको मान्छे एमालेमा प्रवेश गराउने अनि तरुण दलबाट प्रवेश गराएँ भन्ने ?”

By Thah Online

July 23, 2021

सुनसरी नेपाल । तरुण दल र नेवि सङ्घका युवा नेकपा एमालेमा प्रवेश गरेको सन्दर्भमा तरुण दल वराहक्षेत्रले आपत्ति जनाएको छ । बिहीबार ४३ आैँ पुष्पलाल स्मृति दिवसमा आयोजित विचार गोष्ठीका अवसरमा वराहक्षेत्र वार्ड नम्बर ६ र ७ का १४ जना नेकपा एमालेमा प्रवेश गरेका युवाहरु तरुण दल साधारण सदस्य समेत नभएको सभापति पवन चाम्लिङले जानकारी दिए । “हिजो (बिहीबार) कम्युनिस्टका छोराछोरी, आफन्त नै एमाले प्रवेश गरेका हुन्”, उनले थपे, “माधव पक्षबाट ओलीतिर गएका होलान् तर निश्चय नै तरुण दलबाट कोही गएका छैनन् ।” उनका अनुसार नेबि सङ्घका एक जना नेता फुर्वा लामा तामाङ पनि कुनै ‘ट्र्याप’ मा परेर मात्र गएका हुन् ।

यता, नेबि सङ्घका नेता तामाङको नेतृत्वमा पार्टी प्रवेश गरिएको भनिए पनी फुर्वा स्यमंले पार्टी प्रवेश कार्यक्रमको आफूले नेतृत्व नगरेको जिकिर गरेका छन् । आफू कुनै ‘ट्र्याप’ मा प्रवेश गरेको भएपनी अन्य नवप्रवेशीहरु आफूले नलगेको उनको भनाई छ ।  साथै, उनले आफू फेरि काङ्ग्रेसमै फर्किएको समेत जनाइसकेका छन् ।

नेकपा एमालेका जिल्ला सदस्य विष्णु घिमिरेका अनुसार प्रवेश गर्नेमा वार्ड नम्बर ७ का आकाश बस्नेत, गगन घिमिरे, फणीन्द्रवहादुर राई, विमल तामाङ, रोशन तामाङ, सुभित थापा, प्रवेश घिमिरे, आयुस धिमाल, दिनेश शाह, भावश कार्की, राेहन थापा, रेबस थापा र वार्ड नम्बर ६ का उतर कुमार राई रहेका छन् । 

“प्रवेश गर्नेहरूमध्ये नेपाल तरुण दल वराहक्षेत्र नगर कार्यसमितिबाट कुनै नाम, थर खुलेको सदस्य नेकपा एमालेमा प्रवेश नगरेको जानकारी गराउँदछौ”, तरुण दल वराहक्षेत्र सचिव मनोज योन्जन तामाङको पोस्टमा उल्लेख छ । 

बिहीबार भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य युवराज गौतम, विशेष अतिथि एमालेकै केन्द्रीय सदस्य मुरारी सुवेदी, वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख एवम् नेकपा एमाले सुनसरीका उपाध्यक्ष निलम खनाल, नेकपा एमालेका सुनसरी जिल्ला नेता, सङ्गठन विभाग प्रमुख तथा वराहक्षेत्र इन्चार्ज योग्यराज खड्का तथा नेकपा एमाले वराहक्षेत्र नगर कमिटी सभापति लगायत वडाध्यक्षहरूले पार्टीमा अविर माला लगाई स्वागत गर्दै शुभकामना दिएका थिए ।