अमेरिकन जोनसन खोप लगाएपछि धादिङमा एक बृद्धको मृत्यु



धादिङको नीलकण्ठ नगरपालिकामा अमेरिकाले नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको खोप लगाएको एक बृद्धको निधन भएको छ ।

जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको जोनसेन खोप लगाएका एक बृद्धको निधन भएको हो । परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाका अनुसार खोप लगाएर घर फर्किएका ती महिलाको केही समयपछि मृत्यु भएको हो ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ घर भएका नर बहादुर श्रेष्ठको खोप लगाएर घर पुगेको १० मिनेटमै निधन भएको थियो । उनको श’व पोस्ट मार्टमका लागि धादिङ अस्पतालमा पुर्‍याइएको छ । नीलकण्ठ नगरपालिकाले सुनौला बजारमा सञ्चालन गरेको खोप केन्द्रमा उनी हिँडेरै पुगेका थिए । 

नीलकण्ठ नगरपालिकाले वडा नम्बर ६ स्थित सुनौला बजार स्वास्थ्य चौकीमा खोप कार्यक्रम सञ्चालन गरेको थियो । स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि उनलाई जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पतालमा आएपछि उनको मृत्यु भएको डाक्टरहरूले बताएका थिए ।

यद्यपि, उनको खोप लगाएकै कारण वा अन्य कारणले मृत्यु भएको हो भन्ने चाहिँ अझै खुल्न सकेको छैन । यसबारे अध्ययन गर्न महाशाखाले एउटा टोली घटनास्थलमा पठाइसकेको छ ।

शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘खोप लगाएका एक वृद्धको मृत्यु भएको खबर आएको छ । तर, खोप लगाएर नै उनको मृत्यु भएको हो या होइन भन्ने अहिले भन्न सकिन्न । यसका लागि हामीले टोली घटनास्थलमा पठाइसकेका छौँ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्