सरकार दलित माथिको अत्याचारमा गम्भिर नबनेको पासवानको आरोप



जनकपुरधाम : जनकपुर विकास समितिका अध्यक्ष जितेन्द्र पासवानले पछिल्लो समय प्रदेश २ मा बढ्दै गइरहेको दलितमाथिको अत्याचारप्रति सरकार गम्भीर नबनेको आरोप लगाएका छन्। कुनै पनि सरकार दलितहरूको अधिकारप्रति गम्भीर नहुँदा अत्याचार बढेको पासवानको आरोप छ।

दलितको नाउँमा राजनीति गर्ने दलित नेताहरूप्रति पनि पासवान आक्रोश व्यक्त गर्छन्। उनका अनुसार दलितका नेताहरू दलितको मत लिएर नेता बने पनि सानोतिनो लोभमा परेर आफ्नै समुदायको हित बिर्सिने गरेको बताउँछन्। यो स्थितिमा सुधार ल्याउनका लागि प्रत्येक निकायमा दलितहरूको पहुँच बढाउनु आवश्यक रहेको उनले बताए।

उनले दलितहरूलाई भोट बैङ्कको रूपमा मात्रै प्रयोग गरिँदै आएको भन्दै कुनै पनि सरकारले दलितहरूको जीवनस्तर उकास्न नसकेकोप्रति आक्रोश व्यक्त गरे।
उनले भने, ‘हामी अब सहन सक्दैनौँ, हामी कडा आन्दोलन गर्न बाध्य हुनेछौँ।’

अहिले पनि सरकार, प्रशासन नसच्चिए आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिए।

प्रदेश नम्बर २ मा पछिल्लो समय लगातार दलितमाथि कुनै न कुनै रूपमा अत्याचार भएका घटनाहरू सार्वजनिक हुँदै आइरहेको छ। शम्भु सदा, राजु सदा, विजय राम लगायतको मृत्यु तथा हत्याका घटना यसका उदाहरण हुन्। लकडाउन अवधिमै प्रदेश २ मा ६ जना दलित यातनाको सिकार हुनु पयो। जसमध्ये रौतहटमा मात्र ३ वटा घटना भएका छन् भने धनुषामा २ र सप्तरीमा एउटा घटना भएको छ।

तर, तीमध्ये एउटा घटनाको पनि अनुसन्धान सकिएको छैन। कुनै पनि पीडित परिवारले न्याय पाउन नसकेको पासवान बताउँछन्। प्रदेश सरकारले प्रहरी र प्रशासन आफ्नो मातहत नरहेको बताउँदै घटनामा दोषीलाई कारबाही तथा पीडितलाई न्याय दिलाउन नसकेको भन्दै पन्छिन खोज्दा जनमानसमा आक्रोश बढ्दै गएको उनले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्