तालिवानी आ’क्रमण रोक्न अफ्गानिस्तानमा कर्फ्यू



काठमाडौं । अफगानिस्तानका अधिकारीहरुले तालिवानी आ’क्रमण बढेको भन्दै नियन्त्रणका लागि देशका ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रातमा निषेधाज्ञा आदेश जारी गरेको छ ।

यहाँको आन्तरिक मन्त्रालयले सो कुराको जानकारी गराएको छ । मेको सुरुदेखि नै अफगानिस्तानको तालिवान समूहले मुख्य सीमा नाका पार गर्ने दर्जनौं जिल्लाहरू कब्जा गरेको र केही प्रान्तका सदरमुकामलाई घेरा हालेको छ ।

“हिंसा रोक्न र तालिवानी आन्दोलनलाई सीमित गर्नका लागि काबुल, पञ्जशीर र नान्गाहर बाहेक देशभरिका ३१ प्रान्तमा रात्रिकालीन कफ्र्यू लागू गरिएको छ” विज्ञप्तिमा भनिएको छ ।

कफ्र्यू आदेश स्थानीय समय अनुसार बेलुका १० बजेदेखि बिहान ४ बजेसम्मका लागि प्रभावकारी हुने आन्तरिक मन्त्रालयका नायब प्रवक्ता अहमद जिया जियाले पत्रकारसँग बताए ।

अमेरिकी नेतृत्वमा रहेका विदेशी सेनाहरूको पूर्ण फिर्तापछि पुनः शक्ति आर्जन गर्दै तालिवानले अफगानिस्तानका झण्डै ४०० जिल्लामध्ये आधा क्षेत्र नि’यन्त्रणमा लिएको उक्त समूहले दावी गरेको छ । अमेरिकी सेना फिर्ता तयारीसँगै तालिवान समूहले देशभर आफ्ना हिंसात्मक गतिविधिलाई बढाएको छ ।

यस हप्ताको ईद अल–अधाको मुस्लिम बिदाको समयमा हिं’सा केही हदसम्म कम भएपनि सरकारी सुरक्षा फौजलाई लक्षित गरी आक्रमण बढाएका छन् । जवाफी कारबाहीमा विगत २४ घण्टामा विभिन्न प्रान्तमा २६० भन्दा बढी तालिवान लडाकूहरू मारिएको दाबी सरकारी अधिकारीले गरे ।

सरकारी अधिकारी तथा तालिवान समूहले उनीहरूको दावीलाई बढाइचढाइ गरीरहेको तर यसको स्वतन्त्र रुपमा प्रमाणित गर्न नसकिएको स्थानीय अधिकारकर्मीले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्