मलेसियाबाट ल्याइयो २४ नेपालीकाे शव, ३ काे अस्तु



काठमाडौँ – वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २७ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ । नेपाल वायु सेवा निगमको वाइड बडी जहाजले मलेसियाबाट २४ वटा शव र उतै दाहसंस्कार गरिएका शवका ३ वटा अस्तु नेपाल ल्याएको हो ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव शनिवार नै आफन्तलाई जिम्मा लगाइएको बोर्डले जनाएको छ । विमानस्थलमा शव बुझ्ने आफन्तको कोलाहल र रुवावासीले अवस्था हृदय विदारक बनेको थियो । शवहरूको पहिचान गर्न समेत अलमल रहेको र कसैले कसैलाई पनि सम्झाउन नसक्ने अवस्था बनेको थियो ।

शनिवार तनहुँका झापटबहादुर थापा, पाँचथरका दलबहादुर लावती, पाल्पाका यामबहादुर सुनार, बाराका रामबहादुर कामु, जाजरकोटका सन्दीप विक, बागलुङका सुनिल बिसी, बर्दियाका मनीराम चौधरी, ललितपुरका जीतबहादुर मोक्तान, खोटाङका कृष्ण कुमार राईको शव ल्याइएको थियो ।

ल्याइएका शवहरूमध्ये कम्पनीमा काम गर्दागर्दै दुर्घटनामा परेका १ जना, ६ जना झुन्डिएर आत्महत्या गरेका र अन्यको विभिन्न कारण वाट मृत्यु भएको बताइएको छ । ल्याइएका तीन वटा अस्तु मध्ये दुई वटा कोरोना सङ्क्रमित भई मृत्यु भएको थियो भने एक जनाले मलेसियामै आत्महत्या गरेको रेकर्ड रहेको मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव तथा प्रशासनिक प्रमुख अधिकृत प्रतीक कार्कीले जानकारी दिएका छन् ।

शव लिन मलेसिया गएका नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन विजय लामाले श्रम र पसिना बेच्न विदेश गएका नेपाली दाजुभाइ दिदीबहिनीको शव ल्याउँदा जस्तो दुःख, पीडा अरू कुनै पनि उडान गर्दा नहुने टिप्पणी गरेका छन् । उनले देशमा राजनीतिक खिचातानी छाडेर युवाहरूलाई श्रम र पसिना बेच्न विदेश जानुपर्ने बाध्यता हटाउन दल र नेतासँग आग्रह पनि गरेका छन् ।

जुलाई १७ अर्थात् गएको शनिवार १२ वटा, बुधवार एउटा र यस शनिवार २४ वटा गरी एक हप्ताभित्रै ३७ वटा शव र ३ वटा अस्तु विदेशबाट नेपाल ल्याइएको र अझै १८ वटा लिन जानुपर्ने अवस्था रहेको भन्दै क्याप्टेन लामाले यो अवस्था सरकारको लागि तथ्याङ्कमा मात्रै सीमित भए पनि मृतकका आश्रित परिवारको लागी सर्वस्व गुमेको उल्लेख गरे । यो समाचार आजको मध्यान्न दैनिकमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्