दलितले बाच्नै नपाउने ? छिमेकीबाट यसरी कुटिइन वर्षा दर्जी



‘मैले न्याय पाउनु पर्छ, के दलितले बाँच्नै नपाउने’ मोरङ पथरीशनिश्चरे नगरपालिका ४ कि वर्षा दर्जी (कंसाकार) भन्छिन् ‘घाँसकै निहुरा मलाई छिमेकीले मरणासन्न हुने गरी पिटे, हिलोमा मलाई गाडे , उम्किएर हिलाम्मे र ग्राम्यता भएर इलाका प्रहरी कार्यालय पथरी आँए मेरो सुनुवाइ भइराखेको छैन, म अस्पतालमा छु, (शनिबार) चार दिन बितिसक्दा पनि मलाई आक्रमण गर्नेलाई प्रहरीले अहिलेसम्म कारबाही चलाएको छैन ।’ मोरङ पथरीशनिश्चरे ४ महेन्द्र चोक कि ४२ बर्षिय वर्षा दर्जी (कंसाकार) र छिमेकी पति, पत्नी डिल्लीराम नेपाल र हेमा नेपालबिच साउन ६ गते साँझ ४ बजे झगडा भयो । जग्गाको सीमानामा घाँस काटेको निहुँमा दुई पक्षबिच झगडा भएको थियो । हेमा नेपाल र वर्षा दर्जीबिचको झगडामा हेमाकी पति डिल्लीराम नेपाल आएर थपिएपछि तीन जनामा झगडा भयो । पतरीको मोरङ अस्पतालमा उपचार गराइरहेकी वर्षा दर्जी डिल्लीराम नेपालले आफूलाई टाउको र अनुहारमा लात्ती र बाक्सिङले कुटपिट गरेको बत्ताउँछिन् । वर्षाको अनुहार र टाउकोमा नीलडाम र चोटहरू देखिएको छ । दुई जनाले हिलोमा चोभलेर निरन्तर कुटपिट गरे पनि फुत्किएर भागेको गाउँमा सबैले देखेको वर्षाको भनाइ छ ।

कुटपिटबाट उम्किएर जीउभरी हिलो र रगतताम्य भएर इलाका प्रहरी कार्यालय पथरीमा आएर उजुरी गर्दा प्रहरी प्रमुख डिएसपी कृष्ण खड्काले डिल्लीराम र हेमा लाई हालसम्म पक्राउ नगरेको पीडित वर्षाको गुनासो छ । वर्षा दर्जी (दमै)को छोरी भए पनि कंसाकार(नेवार)सँग विवाह गरेकी हुन् । आफ्नै जग्गामा घाँस काटिरहेको बेला नेपाल दम्पती ‘डुम्री’ किन घाँस काट्छस् भन्दै आएर कुटपिट गर्न थालेको वर्षाको भनाइ छ । हेमा नेपालले भने आफूहरूले कुटपिट नगरेको झगडा परिरहेको बेला पति डिल्लीराम आएर छुटाएको बताउँछन् । यद्यपि पतरीको मोरङ अस्पतालमा उपचार गराइरहेकी वर्षाको शुक्रवार बिहान बान्ता (उल्टी) भएपछि स्वास्थ्य कर्मीले टाउकोको सिटी स्क्यान गर्नुपर्छ भनेपछि विराटनगरको नोबेल अस्पतालमा निफर गरेका थिए ।

नोवेलको स्वास्थ्य कर्मीले दुई हप्ताको औषधी दिएको र टाउकोमा दाग देखिएकोले दुई हप्तापछि पुन सिटी स्क्यान गर्नुपर्छ भनेर सल्लाह दिएको वर्षाले बताइन । वर्षा घटना विवरण यसरी सुनाउँछिन् । नेपाल दम्पतीले कुटपिट गर्ने अन्य छिमेकीहरूले छुटाउनुको सट्टा मारामार भनेको सुनेपछि मार्ने भयो भनेर फुत्किएर कुदेरै भागेँ । कुदेको सबेले देखेको छन् । देशको विभिन्न स्थानमा दलितहरूलाई कुटेरै मारिएको प्रशस्त घट्नाहरु छन । मलाई पनि मार्ने नै भयो भन्ने लागेर भागेर प्रहरी कार्यालय आएँ । प्रहरीले पनि सुनुवाइ गरेन, पीडकलाई पक्रेर हालसम्म कारबाही गरेको छैन । अस्पतालको बेडबाट वर्षा प्रश्न गर्छिन् ‘के दलितले बिन कारण मर्नु पर्ने हो ?, दलितको कोखमा जन्मेका मानिसले न्याय पाउँदैन ।’ अस्पतालमै पनि आफूलाई असुरक्षित महसुस भएको वर्षा बत्ताउँछिन् । वर्षाको पति र नानी काठमाडौँ बस्छन् । आमाको हेरचाह र उपचारको लागि वर्षा पथरीशनिश्चरे ४ बस्दै आएकी हुन् । माइत बस्दा छिमेकीहरूले देख्न नसकेको वर्षाको भनाइ छ ।

छिमेकीले किन यस्तो व्यवहार गर्छन् त ? भन्ने प्रश्नमा वर्षा भन्छिन् । म दमाईं कि छोरी । आमाको सेवाको लागि केही वर्षदेखि माइत बस्दै आएकी छु । गाउँमा बस्दा दलित समुदायको हकहितमा कुरा गर्छु । ४ नम्बर वडाबाट गाउँ टोलमा होम पाइप, इनार, कल गाड्ने लगायतको कार्यक्रम ल्याउने प्रयास गरेँ । यसरी सामाजिक काम गर्दा छिमेकीहरूलाई दलितको छोरीले यस्तो काम गरेको नपचेको हुन सक्छ । अघिल्लो पुस्ता (आमा, बाउ)हरुले त्यही छिमेकीहरूलाई हजुर भनेर शिर निहुराएर हिँड्नु हुन्थ्यो । हामी अलिक सामाजिक कुरा बुझ्ने भयौ । विभेद सहन हुँदैन भन्ने बुझेर सिधा कुरा गर्छौ । यस्तो कुरा छिमेकीहरूलाई नपचेको हुन सक्छ । त्यही छिमेकीहरूले बारम्बार यो गाउँमा बस्न दिनु हुँदैन भन्ने, होच्याउने मात्र होइन म माथि यस अघि पनि कुटपिट भएको छ । न्याय माग्ने ठाउँमा पनि सुनुवाइ हुँदैन ।

दलित भएकै कारण त्यो टोलमा बस्न मिल्दैन भने उचित मूल्यमा जग्गा किनिदिउन् हामी अन्तै जाउँला । वर्षा गहभरि आँसु झार्दै भन्छिन् ‘म माथि यत्रो अन्याय हुँदा प्रहरी प्रमुख डिएसपी कृष्ण खड्का किन मौन बस्छन्, मलाई यो हालतमा पुर्‍याउने व्यक्तिहरू पक्रेर किन कारबाही चलाउँदैन ।’ कि मैले कसैमाथि अन्याय गरेको, दुःख, पीडा दिएको भए भनुन् । यही प्रश्न इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी कृष्ण खड्कालाई गर्दा उनेले सामाजिक रूपमा मिल्ने कुरा आएपछि केही दिन मिल्ने समय दिएको र नमिल्ने भए आइतबार (साउन १०, घटना भएको ५ दिनपछि) मुद्दा दर्ता गर्ने बताए ।
रातोकलम डटकमबाट साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्