इजरायल जाने कामदारका लागि परीक्षा लिने तयारी



वैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि परीक्षा लिने तयारी गरेको छ । विभागका निर्देशक एवं सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले यसका लागि कामदार छनौट गर्ने विषय अघि बढेको बताउनुभयो ।

निर्देशक भट्टराईले केही दिनमा सूचना जारी गरेर यस विषयमा जानकारी दिने तयारी भएको बताउनुभयो । त्यस्तै विभागका अर्का निर्देशक डम्बरबहादुर सुनुवारले इजरायल जान चाहने कामदारको लागि सोमबार वा मङ्गलवार सूचना सार्वजनिक गर्ने बताउनुभयो । उहाँका अनुसार सूचना जारी भएको २१ दिनपछि परीक्षा लिने मिति राष्ट्रिय दैनिक र वैदेशिक रोजगार विभागमा सार्वजनिक गरिनेछ ।

कमाइ र कार्यस्थलका हिसाबले इजरायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्यको रूपमा मानिँदै आएको छ । अन्तिम छनोटमा परेका उम्मेदवारको करारनामामा हस्ताक्षर गरी इजरायलले विभागमा पठाउने छ । विभागले सम्बन्धित व्यक्तिको हस्ताक्षर गराएर श्रमिकलाई इजरायल पठाउनेछ । न्यूनतम मासिक १५ सय डलर ९ एक लाख ७८ हजार नेपाली रुपियाँ पारिश्रमिक पाउनेछन् ।

सूचनामा काम गर्ने समय, कामदारको योग्यता, तलब र इजलायलको कानुनी व्यवस्थाबारेमा जानकारी राखिनेछ भने परीक्षा अङ्ग्रेजी भाषामा हुने उहाँले बताउनुभयो । त्यसपछि अन्तर्वार्ता लिएर अन्तिम योग्यता सूची तयार गर्ने र उक्त सूची इजरायलको पीआईबीएलाई पठाउने र विभागले पठाएको सूचीका आधारमा पीआईबीएले अन्तिम उम्मेदवार छनोट गर्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार त्यसपछि भिसा प्रक्रियाको काम अगाडि बढ्छ । नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौताको आधारमा स्याहार केन्द्रमा एक हजार नेपाली कामदार माग भएको छ । विभागमा माग गएको उक्त कामदारमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको रहेको निर्देशक डम्बरबहादुर सुनुवारले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्बाट इजरायल कामदार पठाउन निर्देशिका स्वीकृत भएपछि कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै निषेधाज्ञा जारी भएकाले कामदार पठाउने प्रक्रिया रोकिएको थियो ।

सन् २०१२ देखि कामदार जान रोकिएको तर सन् २०१५ मा पुनः निजी क्षेत्रबाट नै कामदार लैजाने गरी सम्झौता भए पनि सरकारी तवरमा नै लैजाने निर्णय भएको हो । सरकारी तहमा लैजाने भनेर सम्झौता भए पनि कामदार इजरायल जान पाएका थिएनन् । तीन वर्ष अघि एक सयको हाराहारीमा कामदार गए पनि थप कामदार जान पाएका छैनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्