निर्वाचन आयोगले आज जसपाका नेताको ‘हेड काउन्ट’ गर्दै



काठमाडौं । निर्वाचन आयोगले जसपाको विवाद टुंग्याउन आज हेड काउन्ट गर्दैछ । आयोगले जसपाको केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीहरुलाई आज बिहान ११ बजेका लागि बोलाएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा रहेको इजालसले केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीको सनाखत गराउन साउन ७ गते आदेश दिएको थियो । आयोगले जसपा निर्वाचन आयोगमा दल दर्ता गर्दाको बखतका ५१ कार्यकारिणी समितिका पदाधिकारीलाई बोलाएको हो ।

उनीहरुलाई नागरिकता वा मतदाता परिचय पत्रको सक्कल कपि लिएर उपस्थित हुन भनिएको छ । आयोगका सचिव सुरेश कुमार अधिकारीले आज सनाखत हुने जानकारी दिए ।

केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीको सनाखत गरेर कसको पक्षमा बहुमत छ भन्ने सिद्ध गर्न लागेको हो । जसपाको विवादमा फैसला आजै आउन सक्ने सम्भावना छ ।

इजलासले आदेश गर्दा नै आजका लागि फैसलाको मिति तोकेको थियो । जसपाका अध्यक्ष उपेन्द्र यादव समूहले राजनीतिक दलसम्बन्धि ऐनको दफा ४३–४४ अनुसार पार्टीको आधिकारिकता दाबी गरेको थियो । सोही विवाद निरुपण प्रक्रिया अन्तर्गत इजलासले बहुमत सदस्यको हस्ताक्षर गर्न लागेको हो ।

उपेन्द्र यादव पक्षले ५१ मध्ये ३० भन्दा बढी सदस्य आफूसँग रहेको दावी गर्दै आएको छ । उता, अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पछि हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिएन ।

आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सशरीर उपस्थित गराउन भनेपछि ठाकुरले आदेश कानुन संवत नभएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले दुवै पक्षलाई साउन १५ गतेका लागि बोलाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्