कर्णालीमा स्नातोत्तर पढाइ भएको हेर्ने धोको : प्रधानमन्त्री देउवा



सैघाली खबर
सुर्खेत, २९ माघ
प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई प्रदेश नं ६ कै स्वास्थ्य क्षेत्रको गौरव भएको बताएका छन्।रु ७५ करोड बजेटमा निर्मित ३०० शय्याको प्रतिष्ठानको नवनिर्मित भवन आइतबार उद्घाटन गर्दै उनले भौगोलिक रुपले विकट र पिछडिएको क्षेत्रमा निर्मित प्रतिष्ठानबाट स्वास्थ्य क्षेत्रमा समृद्धि आरम्भ हुने बताए । हिमाली जिल्लामा चिकित्सा क्षेत्रमा देखिएको विशाल भवन कर्णालीमा उद्घाटन गर्न पाउँदा आफू खुशी भएको अभिव्यक्ति दिँदै प्रधानमन्त्री देउवाले अब यस क्षेत्रमा एमबिबिएस पढाइ भएको हेर्ने धोको रहेको बताए ।

“जसरी स्थापनाकालदेखिको तीव्र गतिमा स्वास्थ्य सेवा, स्टाफ नर्स र स्वास्थ्य सहायकको शिक्षण सेवा प्रतिष्ठानले दिइरहेको छ, सोहीअनुसार प्रतिष्ठानले सिनेटमा पेस गरेका एमबिबिएस मिडवाइफेरीलगायतका बहुवर्षीय योजनाहरू छिटो अघि बढाउनुपर्छ,”–उनले भने । प्रधानमन्त्री देउवाले प्रतिष्ठानको एमबिबिएस कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार तत्काल अगाडि बढाउन स्वास्थ्य मन्त्रीलाई निर्देशन दिए ।

प्रतिष्ठानको सिनेट बैठकले असोज २६ गते पारित गरेको बजेट तत्काल उपलब्ध गराउने भन्दै उनले अस्पताल जस्ता पवित्र स्थान आगलागी भएको घटनाको अनुसन्धानमा तीव्रता दिने जनाए ।

कार्यक्रममा स्वास्थ्यमन्त्री दिपक बोहराले ६ नं प्रदेशको स्वास्थ्यको राजधानी जुम्ला हुने र अन्य जिल्लामा यसका सेवाहरू प्रभावकारी रुपमा अगाडि बढाइने बताए । उहाँले प्रतिष्ठानमा मिर्गौला, क्यान्सर र स्पाइनल इञ्जुरीका सेवासमेत थप गर्ने संकल्प गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य डा गीताभक्त जोशीले राज्यको बजेट बाँडफाँडमा योजना आयोगको नजरबाट कर्णालीमा स्थापित प्रतिष्ठान प्रथामिकतामा पर्ने विश्वास दिलाए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थानबाट यहाँ डाक्टर पढ्न आउने र स्वास्थ्य पर्यटकीय क्षेत्रको ‘हब’ बनाउने योजना रहेको उनको भनाइ थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्