मालबाहाक सवारीले ओभर लोड बोक्न नपाउने, बोकेमा ठाउँको ठाउँ कारबाही



टेकबहादुर पुन दाङ । ओभर लोड बोकेर गुड्ने सवारी साधनलाई ठाउँको ठाउँ कारबाही गरिने भएको छ । ओभर लोड बोक्दै आई रहेका मालवाहक सवारी साधनले अब ओभर लोड बोक्न नपाउने भएका हुन । ओभर लोड बोकेको पाइएको खण्डमा कानुनी कारबाही गरिनुका साथै व्यवसायी समितिबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनुपर्ने छ ।

मङ्गलवार देखि दाङमा ओभर लोड बोक्ने मालवाहक सवारीसाधनलाई कारबाही गरिने भएको राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितिका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जानकारी दिए । गृह मन्त्रालयको विशेष निर्देशनमा ओभर लोड बोक्ने मालवाहक सवारी साधनलाई कारबाही गर्न भनिएकाले पनि प्रहरी र ट्रक समितिलाई दबाब पुगेको हो ।

सोमबार दाङ जिल्ला प्रहरी प्रमुख सुरेश कुमार काफ्ले, ट्राफिक प्रहरी प्रमुख थम्मन जिसी, राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितिका अध्यक्ष रत्न प्रसाद श्रेष्ठ र अन्य सरोकारवाला बिच जिल्लाको घोराहीमा सम्पन्न भएको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । यस अघि सिमेन्ट उद्योगमा चुनढुङ्गा लैजाने क्रममा ओभर लोड बोकेका टिपरलाई नियन्त्रणमा लिइएको थियो ।

ओभर लोडका कारण सडकमा असर पुग्नुका साथै दुर्घटनाको जोखिम बढेको छ । मालवाहक सवारीसाधनले अनिवार्य तौल लिनुपर्ने भएको छ । लमहीको रातो डाँडा स्थित तौल पुलमा अनिवार्य तौल लिनुपर्ने समितिले जनाएको छ । १० चक्के ट्रकले १७ टन र १२ चक्के ट्रकले २१ टन लोड बोक्न पाउने मापदण्ड छ ।

तर मापदण्ड विपरीत सवारी सधानले ओभर लोड बोक्दै आई रहेका थिए । जसले गर्दा प्रतिषेधाधिकार कारण मूल्यमा ह्रास आइरहेको थियो । अब भने मूल्यमा एक रुपता आउने र व्यवसायी मर्कामा नपर्ने विश्वास गरिएको छ । ओभर लोड बोकेका सवारीसाधन दुर्घटनामा परेमा समितिले दिने सुविधा समेत रोक्का हुने छ भने समितिको नियम बमोजिम चलेमा स्पोर्टसमै सेवा सुविधा पुय्राईने समितिका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले बताए ।

समितिमा तीन सय बढी मालवाहक सवारी साधन रहेका छन् । समितिमा नरहेका सदस्यहरूलाई समितिमा आबद्ध भई सेवा सुविधा लिन समितिका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले सबैमा अनुरोध गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्