Banner First

तेस्रो लहर आउन सक्ने भन्दै अक्सिजन सिलण्डर मौज्दात राख्न मन्त्रालयको निर्देशन

By Thah Online

July 27, 2021

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो केही दिन यता कोरोना सङ्क्रमणको दर बढेकाले तेस्रो लहर आउन सक्ने भन्दै थप सावधानी अपनाउन सातै प्रदेशलाई पत्राचार गरेको छ ।

सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले सम्भावित चुनौतीलाई सामना गर्न एक हजार अक्सिजन सिलिन्डर भरेर तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्न निर्देशन दिनुभएको हो ।

महाशाखा प्रमुख उपाध्यायद्वारा जारी विज्ञप्तिमा जनस्वास्थ्य मापदण्डको पालना र निषेधाज्ञाका बाबजुद पनि कोभिड–१९ को सङ्क्रमण दरमा कमी आएको नदेखिएको जनाएको छ ।

‘विगतका दिनहरूमा जस्तै सङ्क्रमणको दर तीव्र रूपमा बढ्न गई कोभिड–१९ को पुनः अर्को लहर नआउला भन्न सकिँदैन,’ विज्ञप्तिमा लेखिएको छ,‘ अतः भविष्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न त्यहाँ कम्तीमा एक हजार वटा अक्सिजनका सिलिन्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्नुहुन निर्देशानुसार जानकारी गराइन्छ ।’

साथै, मौज्दात सिलिन्डरहरू पनि खालि नराख्नुहुन र अक्सिजन पीएसए प्लान्ट, अक्सिजन ट्याङ्क तथा अक्सिजन कन्सेन्टेटर चालू र चुस्त अवस्थामा राख्न पनि स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको हो ।